११ असार २०८३, बिहीबार

हरित ऊर्जाको वृद्धिले भारतको कोइला आयात ४ वर्षयताकै न्यून

असार ९, २०८३
काठमाडौं
हरित ऊर्जाको वृद्धिले भारतको कोइला आयात ४ वर्षयताकै न्यून

स्थानीय उत्पादनमा भएको वृद्धि र नवीकरणीय (हरित) ऊर्जाको उत्पादनमा आएको उछालका कारण जनवरीदेखि मे महिनासम्मको अवधिमा भारतको थर्मल कोइला आयात ४ वर्षयताकै न्यून बिन्दुमा झरेको छ। कमोडिटिज क्षेत्रको परामर्शदाता कम्पनी 'बिगमिन्ट'का अनुसार यस वर्षको मे महिनासम्ममा भारतको थर्मल कोइला आयात अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले घटेर ६ करोड ५० लाख टनमा सीमित भएको हो ।

विश्वकै दोस्रो ठुलो कोइला आयातकर्ता देश भारतले पछिल्लो समय आयातमाथिको निर्भरता घटाउने नीति लिएको छ। भारतले यसै वर्षभित्र विद्युत् उत्पादनका लागि प्रयोग हुने यस्तो कोइलाको खपतलाई कम्तीमा ३० प्रतिशतले कटौती गर्ने लक्ष्य राखेको छ। 'एल् निनो' मौसम प्रणालीका कारण अत्यधिक गर्मी बढेर बिजुलीको माग उच्च भएपछि भारतको सबैभन्दा ठुलो कोइला उत्पादक कम्पनी 'कोल इन्डिया'ले आफ्ना भगिनी कम्पनीहरूलाई उत्पादन तीव्र पार्न निर्देशन दिएको थियो। यसका साथै मध्यपूर्वको तनावका कारण आयातित कोइलाको मूल्य र ढुवानी भाडामा भएको वृद्धिले पनि आयात घटाउन भूमिका खेलेको बिगमिन्टले जनाएको छ।

बिगमिन्टका अनुसार जनवरी–मे महिनाको अवधिमा भारतको कुल विद्युत् उत्पादनमा गत वर्षको तुलनामा ५ प्रतिशतको वृद्धि हुँदा नवीकरणीय ऊर्जाको उत्पादन भने २२ प्रतिशतको तीव्र गतिले बढेको छ। गत मे २१ मा अत्यधिक गर्मी र लुका कारण भारतको 'पिक पावर डिमान्ड' (विद्युत्को उच्चतम माग) देशले अनुमान गरेको २७० गिगावाटभन्दा पनि माथि पुगेको थियो।

केन्द्रीय ग्रिड नियामक 'ग्रिड–इन्डिया'को तथ्याङ्कअनुसार मे महिनामा भारतको विद्युत् माग ११.२ प्रतिशतले बढेर दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो। माग पूरा गर्न उपयोगिता प्रदायकहरूले २४सै घण्टा उत्पादन बढाएपछि थर्मल ऊर्जा उत्पादन गत वर्षको तुलनामा १० प्रतिशतले बढेको थियो, जुन मे २०२४ पछिको सबैभन्दा उच्च हो।

रोयटर्सको विश्लेषणअनुसार सोही महिनामा भारतको नवीकरणीय ऊर्जा उत्पादन अघिल्लो वर्षको तुलनामा २९.३१ प्रतिशतले बढेर २७ अर्ब ५८ करोड किलोवाट–घण्टा पुगेको छ। यो उत्पादन भारतको कुल ऊर्जा मिश्रणको रेकर्ड १७.९ प्रतिशत हिस्सा हो।

salt training

कमेन्ट गर्नुहोस्