२१ असार २०८३, आइतबार
फिफा विश्वकप–२०२६

पोर्चुगल र उज्वेकिस्तानबीच ऐतिहासिक भिडन्त, नकआउट चरणको सम्भावना जीवित राख्ने लक्ष्य

असार ९, २०८३
काठमाडौं
पोर्चुगल र उज्वेकिस्तानबीच ऐतिहासिक भिडन्त, नकआउट चरणको सम्भावना जीवित राख्ने लक्ष्य

फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘के’को आफ्नो महत्त्वपूर्ण खेलमा मंगलबार पोर्चुगलले एसियाली प्रतिद्वन्द्वी उज्वेकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, मंगलबार राति २२:४५ बजे शुरू हुनेछ ।

अमेरिकाको ह्युस्टनस्थित एनआरजी स्टेडियममा हुने यो भिडन्त दुवै टोलीका लागि निकै अर्थपूर्ण छ । खासगरी, पोर्चुगलका लागि आफ्नो दाबेदारी बलियो बनाउन जित अनिवार्य छ ।

पहिलोपटक विश्वकप खेलिरहेको उज्वेकिस्तान भने आफ्नो अस्तित्व जोगाउने धुनमा रहेने छ । पहिलो खेलमा कंगोसँग १–१ गोलको बराबरीमा रोकिएको पोर्चुगलका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

टोलीका प्रशिक्षक रोबर्टो मार्टिनेजका लागि यो खेल समूहको समीकरण फेर्ने अवसर हो । पोर्चुगलले यो खेल जितेमा समूहको शीर्ष स्थानका लागि कोलम्बियासँगको आगामी प्रतिस्पर्धा थप रोचक बन्नेछ ।

पोर्चुगलका प्रशिक्षक मार्टिनेजका लागि टोलीको ‘स्टार पावर’लाई मैदानमा नतिजामा बदल्नु ठूलो टाउको दु:खाइको विषय पनि बनेको छ ।

कंगोविरुद्धको खेलमा पोर्चुगलले पूरै समयमा केवल एकपटक विपक्षी गोलपोस्टमा लोभलाग्दो प्रहार गर्न सकेको थियो ।

सन् २०२२ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको पोर्चुगलसँग अनुभवी खेलाडीको बलियो सूची छ ।

अर्कोतर्फ, प्रशिक्षक फाबियो कानाभारोको नेतृत्वमा रहेको उज्वेकिस्तानका लागि यो विश्वकपको यात्रा आफैंमा एउटा ऐतिहासिक उपलब्धि हो ।

पहिलो खेलमा कोलम्बियासँग १–३ गोलले पराजित भए पनि उज्वेकिस्तान विश्वकप इतिहासमै पहिलो जितको खोजीमा रहनेछ, त्यो पनि पोर्चुगलजस्तो बलियो टोलीलाई स्तब्ध पार्दै ।

कोलम्बियाविरुद्धको पहिलो खेलमा उज्वेकिस्तानका अब्बोसबेक फयजुल्लाएभले गोल गर्दै आफू लयमा रहेको संकेत दिएका थिए ।

इटलीका पूर्वस्टार खेलाडी कानाभारोको टोली ‘ह्वाइट उल्भ्स’ अर्थात, ‘सेता ब्वाँसाहरू’ले पोर्चुगलविरुद्ध रक्षात्मक खेल खेल्दै ‘काउन्टर अट्याक’को रणनीति अपनाउने देखिन्छ ।

अर्कोतिर, ४१ वर्षीय महान खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि यो खेल झनै विशेष छ । आफ्नो छैटौं विश्वकप खेलिरहेका रोनाल्डो अघिल्लो खेलको प्रदर्शनपछि आफूमाथि भइरहेको आलोचनाको वर्षाको गतिलो जवाफ दिने धुनमा हुनेछन् ।

४१ वर्षीय रोनाल्डोको प्रदर्शनलाई लिएर चर्को बहस शुरू भएको छ । रोनाल्डो ठूला प्रतियोगिताहरूमा पछिल्ला १० खेलदेखि गोलविहीन छन् ।

यद्यपि, उनले पछिल्ला नौ अन्तर्राष्ट्रिय खेलमध्ये ६ वटामा गोल गरेका छन् । प्रशिक्षक मार्टिनेजले उनलाई निरन्तर विश्वास देखाइरहेका छन् ।

यदि, यो खेलमा पनि गोलको खडेरी जारी रहेमा उनीमाथिको दबाब झन् बढ्ने निश्चित छ । रोनाल्डोलाई ब्रुनो फर्नान्डेस, बर्नान्डो सिल्भा र राफेल लियोजस्ता स्टार खेलाडीको साथ रहने छ ।

पोर्चुगलका लागि खुसीको खबर भनेको चोटका कारण पहिलो खेल गुमाएका म्यानचेस्टर सिटीका डिफेन्डर रुबेन डियास टोलीमा फर्किएका छन् ।

यसले टोलीको रक्षापंक्तिलाई थप मजबुत बनाउने छ । पहिलो खेलमा बेन्चबाट आएर प्रभावशाली प्रदर्शन गरेका फ्रान्सिस्को कन्सेकााओलाई यसपटक शुरूआती–११ मै देख्न पाइने सम्भावना छ ।

अर्कोतिर, उज्वेकिस्तानले भने आफ्ना कप्तान एल्डोर शोमुरोदोभ र डिफेन्डर अब्दुकोदिर खुसानोभबाट निकै आशा गरेको छ । उज्वेकिस्तानका लागि डिफेन्डर रुस्तम आशुर्मातोभको फिटनेस चिन्ताको विषय बनेको छ ।

पोर्चुगल र उज्वेकिस्तानबीच हालसम्म कुनै पनि आधिकारिक प्रतियोगितामा प्रतिस्पर्धा भएको छैन । त्यसैले यो नै पहिलो र ऐतिहासिक भिडन्त हुनेछ ।

पोर्चुगलले पछिल्ला केही खेलमा राम्रो लय देखाए पनि जारी विश्वकपको पहिलो खेलमै जित निकाल्न सकेन । उज्वेकिस्तान भने पछिल्ला खेलहरूमा रक्षात्मक कमजोरीका कारण केही कमजोर देखिएको छ ।

खेल विज्ञहरूका अनुसार, पोर्चुगलको अट्याकिङ लाइनअप र टोलीको गहिराइलाई हेर्दा उनीहरू केही बलिया देखिन्छन् ।

यो खेलमा पोर्चुगललाई स्पष्ट जितको दाबेदारका रूपमा हेरिएको छ । यदि, पोर्चुगलले जित निकाल्न सकेन भने यसलाई जारी विश्वकपको हालसम्मकै सबैभन्दा ठूलो उलटफेर मानिने छ ।

उज्वेकिस्तानले पोर्चुगललाई दबाबमा राख्ने प्रयास गरे पनि अनुभवी पोर्चुगिज खेलाडीलाई रोक्नु उनीहरूका लागि निकै कठिन हुने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्