१३ असार २०८३, शनिबार
राजनीतिक प्रतिवेदन

रास्वपाको मुख्य राजनीतिक सिद्धान्त अब 'सामाजिक लोकतन्त्र' हुने

असार ९, २०८३
काठमाडौं
रास्वपाको मुख्य राजनीतिक सिद्धान्त अब 'सामाजिक लोकतन्त्र' हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो मुख्य राजनीतिक सिद्धान्तका रूपमा 'सामाजिक लोकतन्त्र'  लाई अगाडि सारेको छ। चितवनमा आयोजित पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको मार्गदर्शक सिद्धान्त अब सामाजिक लोकतन्त्र हुने स्पष्ट पारिएको हो।

यसअघि 'संवैधानिक समाजवाद' लाई आत्मसात गर्ने भनिए तापनि वर्तमान आर्थिक-सामाजिक परिवेश र नागरिकको आकांक्षालाई सम्बोधन गर्न 'सामाजिक लोकतन्त्र' नै उपयुक्त हुने निष्कर्षमा पार्टी पुगेको लामिछानेले मंगलबारको बन्दसत्रमा पेस गरेको प्रतिवेदनमा उल्लेख छ।

सभापति लामिछानेले सामाजिक लोकतन्त्रलाई पाँचवटा मुख्य आधार स्तम्भहरूमा व्याख्या गरेका छन्। जसमा प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रलाई पहिलो प्राथमिकता दिइएको छ। रास्वपाले राज्य आफैं व्यापारमा लाग्नुभन्दा पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, लगानीको सुरक्षा गर्ने र बजारमा स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्ने नीति लिएको छ। यद्यपि, बजारको खुलापनसँगै गरिबी निवारण र समतामूलक समृद्धिका लागि राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा पार्टीले अघि सारेको छ।
सिद्धान्तको अर्को महत्वपूर्ण पक्षका रूपमा 'विधिको शासन' र 'जनउत्तरदायी सरकार' लाई समेटिएको छ।

रास्वपाले कुनै पनि व्यक्ति वा संस्था कानुनभन्दा माथि हुन नसक्ने र राज्यका निकायहरू राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने मान्यता राखेको छ। सरकार केवल सत्ता सञ्चालन गर्ने संयन्त्र मात्र नभई नागरिकका गुनासो सुन्ने र उनीहरूप्रति सदैव जवाफदेही हुनुपर्ने सिद्धान्तलाई सामाजिक लोकतन्त्रको प्राण मानिएको छ।

यसैगरी, रास्वपाले 'लोककल्याणकारी राज्य' को अवधारणालाई आफ्नो सिद्धान्तको अभिन्न अंग बनाएको छ। राज्यले शिक्षा, स्वास्थ्य, आवास र सामाजिक सुरक्षा जस्ता आधारभूत आवश्यकतामा नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने र यसलाई दान वा कृपाका रूपमा नभई नागरिकको अधिकारका रूपमा स्थापित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

यसका साथै, सबै जाति, लिंग, क्षेत्र र समुदायको न्यायोचित सहभागिता सुनिश्चित गर्दै 'समन्यायिक समावेशी समाज' निर्माण गर्ने लक्ष्यलाई पार्टीले आफ्नो वैचारिक जग मानेको छ।

परम्परागत वामपन्थी र दक्षिणपन्थी विचारधाराको ध्रुवीकरणभन्दा अलग रहँदै रास्वपाले व्यावहारिक, विवेकपूर्ण र परिणाममुखी राजनीतिको बाटो रोजेको छ। सभापति लामिछानेले प्रतिवेदनमार्फत रास्वपा अब कुनै अस्पष्टतामा नरहेको र सामाजिक लोकतन्त्रकै जगमा उभिएर देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा लाग्ने दृढ संकल्प व्यक्त गरेका छन्।

यो सिद्धान्तले व्यक्तिगत स्वतन्त्रता र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्दै समुन्नत नेपाल निर्माणको मार्गचित्र कोर्ने विश्वास पार्टीले लिएको छ।

salt training

कमेन्ट गर्नुहोस्