
ओमानले हर्मुज जलडमरू हुँदै हुने समुद्री यातायातलाई सहज बनाउन अस्थायी जलमार्ग सञ्चालनमा ल्याएको छ । साथै, जलडमरू प्रयोग गर्ने जहाजबाट कुनै शुल्क नलिइने जनाएको छ ।
ओमानले अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ)सँगको समन्वयमा जलडमरूको हालको मार्ग सुरक्षित नरहेको निष्कर्ष निकाल्दै विद्यमान जहाज मार्गको उत्तर र दक्षिणतर्फ दुईवटा अस्थायी समुद्री मार्ग तोकेको हो । ती मार्गहरू विशेषगरी बाहिरिने जहाजहरूको सुरक्षित आवागमनका लागि प्रयोग गरिने जनाइएको छ ।
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ देखि इरानविरुद्ध सैन्य अभियान थालेपछि विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलडमरू प्रभावित बनेको छ । युद्धअघि विश्वको करिब पाँचौं हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ढुवानी हुने गरेको थियो ।
ओमानले जारी गरेको सूचनाअनुसार सन् १९६८ मा संयुक्त राष्ट्रसंघअन्तर्गतको समुद्री निकायले निर्धारण गरेको ‘ट्राफिक सेपरेशन स्किम’ हाल प्रयोगका लागि सुरक्षित नरहेकाले जहाजहरूलाई वैकल्पिक अस्थायी मार्ग प्रयोग गर्न निर्देशन दिइएको छ । उक्त प्रणालीअन्तर्गत इरान र ओमानको समुद्री क्षेत्र हुँदै जहाज आवागमन हुने व्यवस्था थियो ।
ओमानले जलडमरूको अन्तर्राष्ट्रिय व्यापार र विश्व अर्थतन्त्रमा रहेको महत्त्वलाई ध्यानमा राख्दै स्वतन्त्र समुद्री आवागमन सुनिश्चित गर्न यो कदम चालिएको जनाएको छ । अमेरिका र इरानबीच भएको समझदारीलाई समेत आधार बनाउँदै जलमार्ग सञ्चालन गरिएको ओमानको भनाइ छ ।
जहाजहरूको आवागमन चरणबद्ध रूपमा गराइने र प्रत्येक जहाजलाई छुट्टाछुट्टै सम्पर्क गरी प्रस्थान समय तथा प्रयोग गर्नुपर्ने मार्गबारे जानकारी दिइने व्यवस्था गरिएको छ । जहाजहरूलाई अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा रहेको प्रतीक्षा क्षेत्रमा राखेर मात्र अगाडि बढ्न अनुमति दिइने जनाइएको छ ।
ओमानले हर्मुज जलडमरू प्रयोग गर्ने जहाजबाट कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ । हालै अमेरिका र इरानबीच भएको वार्ताको निष्कर्षअनुसार ६० दिनसम्म व्यावसायिक जहाजलाई निःशुल्क आवागमनको व्यवस्था गरिएको छ।
यद्यपि, ६० दिनपछि जलडमरूको दीर्घकालीन व्यवस्थापन र समुद्री सेवासम्बन्धी सम्भावित शुल्कबारे इरान र ओमानबीच थप छलफल जारी रहेको बताइएको छ ।