
अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन एजेन्डामा ठुलो धक्का दिएको छ। अदालतले अमेरिकामा जन्मिएकै आधारमा पाइने जन्मसिद्ध नागरिकता (बर्थराइट सिटिजनसिप) खारेज गर्ने ट्रम्प प्रशासनको कार्यकारी आदेशलाई बदर गरिदिएको हो ।
गैरकानुनी र कानुनी आप्रवासनविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै बर्थ टुरिज्मरोक्ने मुख्य एजेन्डासहित दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रेका ट्रम्पका लागि यो फैसलालाई ठुलो रणनीतिक पराजयका रूपमा हेरिएको सीएनएनले विश्ल्षण गरेको छ ।
प्रधानन्यायाधीश जन रोबर्ट्सको नेतृत्वमा भएको ६–३ को यो फैसला कार्यकालकै सबैभन्दा प्रतिक्षित फैसलामध्ये एक थियो । प्रधानन्यायाधीश रोबर्ट्सले अमेरिकी भूमिमा जन्मिएका बालबालिकाहरू स्वतः यहाँका नागरिक हुने व्याख्या गरेका छन् ।
फैसलाको पक्षमा प्रधानन्यायाधीश रोबर्ट्ससहित अनुदारवादी न्यायाधीश एमी कोनी ब्यारेट र अदालतका तीन उदारवादी (लिबरल) न्यायाधीशहरू सोनिया सोतोमायर, एलेना कागान र केतान्जी ब्राउन ज्याक्सन उभिएका थिए ।
फैसलामा अनुदारवादी न्यायाधीशहरूबीच नै तीव्र मतभेद देखिएको छ । असहमति जनाउने तीन न्यायाधीशहरूले बहुमतको फैसलाप्रति असन्तुष्टि पोख्दै १३० भन्दा बढी पानाको नोट लेखेका छन् ।
फैसलापछि राष्ट्रपति ट्रम्पले संसद्मार्फत कानुन बनाएर जन्मसिद्ध नागरिकता अन्त्य गर्न सकिने सङ्केत गरेका छन्। तर, अदालतको मुख्य फैसलाले अमेरिकी भूमिमा अवैध अभिभावकबाट जन्मिएका बालबालिका पनि संविधानतः जन्मजात नागरिक नै हुने स्पष्ट पारिसकेको छ।
सर्वोच्च अदालतको यो कार्यकालमा ट्रम्पले कतिपय मुद्दामा जित र कतिपयमा ठुलो हार बेहोरेका छन्। यसअघि अदालतले ट्रम्पको विश्वव्यापी आपत्कालीन महसुल लगाउने अधिकार कटौती गरेको थियो भने फेडरल रिजर्भको गभर्नर हटाउने शक्तिमा पनि अंकुश लगाएको थियो।
तर, अर्कोतर्फ अदालतले स्वतन्त्र निकायका प्रमुखहरूलाई हटाउने राष्ट्रपतिको शक्ति बढाएको छ भने करिब १० लाख आप्रवासीहरूको अस्थायी मानवीय राहत खारेज गर्ने ट्रम्पको निर्णयलाई सदर पनि गरेको थियो।