१६ असार २०८३, मंगलबार

इन्धनको मूल्य नघटाएकोप्रति प्रदीप पौडेलको प्रश्न- तेलको भाउ बढ्दा तुरुन्तै लागू, घट्दा बहानाबाजी ?

असार ११, २०८३
काठमाडौं
इन्धनको मूल्य नघटाएकोप्रति प्रदीप पौडेलको प्रश्न- तेलको भाउ बढ्दा तुरुन्तै लागू, घट्दा बहानाबाजी ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदासमेत नेपालमा इन्धनको भाउ नघटाइएको भन्दै कडा आपत्ति जनाएका छन् । विश्व बजारमा तेलको मूल्य उच्च बिन्दु प्रति ब्यारेल ११७.६३ डलरबाट घटेर ६९.२१ डलरमा झरिसक्दा पनि नेपाली उपभोक्ताले पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु दुःखद भएको उनले बताएका छन् । 

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आम नागरिकले सहजै पाउनुपर्ने भए तापनि नेपाल आयल निगमले उपभोक्तालाई ठगिरहेको उनको आरोप छ।

मूल्य किन घटेन भन्ने जनगुनासो आउँदा आयल निगमले 'हामीले कच्चा होइन, प्रशोधित तेल किन्ने भएकाले तुरुन्तै मूल्य घट्दैन' भन्दै प्राविधिक बहानाबाजी गर्ने गरेको महामन्त्री पौडेलले उल्लेख गरेका छन् । कच्चा र प्रशोधित तेलको मूल्य समायोजनमा प्रशोधन खर्च र केही दिनको समय अन्तर अवश्य पर्ने भए पनि कच्चा तेलमा आएको यति ठुलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा घटाउने तथ्य स्पष्ट रहेको उनले बताए । यतिका दिन बितिसक्दा पनि मूल्य घटिरहेको वास्तविक सूचना लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाइनुले आम उपभोक्ता थप मारमा परेको उनको भनाइ छ।

यसले नेपाल सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको महामन्त्री पौडेलले दाबी गरे । नियमित १५/१५ दिनमा आउने नयाँ मूल्यसूची अनुसार स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य बढाउने र घटाउने दुवै काम सहज रूपमा गर्नुपर्नेमा भाउ बढ्ने बेलामा तुरुन्तै लागू हुने र घट्ने बेलामा चाहिँ लागू नहुने प्रवृत्ति देखिएको उनले औँल्याए । निगम घाटामा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर साथ दिने, तर अन्तर्राष्ट्रिय बजारमा मूल्य सस्तो हुँदा चाहिँ राहत नपाउने अवस्था नागरिकमाथिको अन्याय भएको भन्दै उनले तत्काल स्वचालित मूल्य प्रणालीलाई पूर्ण र पारदर्शी रूपमा लागू गर्न माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्