सरकारले ल्याउन लागेको नयाँ सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक नियम उल्लंघन गर्ने चालक तथा सवारीधनीलाई कडा आर्थिक दण्डको व्यवस्था प्रस्ताव गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात व्यवस्था विधेयक’मा विभिन्न कसुरका लागि हालको तुलनामा उल्लेख्य रूपमा बढी जरिवाना तोक्ने प्रस्ताव गरिएको हो ।
मन्त्रालयले तयार गरेको विधेयक हाल राय–सुझावका लागि कानुन मन्त्रालयमा पठाइएको छ । विधेयकको दफा ६२ मा तत्काल जरिवाना गर्न सकिने व्यवस्थाअन्तर्गत विभिन्न ट्राफिक कसुरका लागि नयाँ जरिवाना प्रस्ताव गरिएको छ ।
प्रस्तावित व्यवस्थाअनुसार मादक पदार्थ वा नसालु पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई २५ हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना हुनेछ । यस्तै, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरेमा १० हजार रूपैयाँ जरिवाना लाग्नेछ ।
सवारी साधनमा अपारदर्शी सिसा राखेमा वा सिसामा अन्य वस्तु प्रयोग गरी बाहिरबाट भित्र नदेखिने बनाइएमा एक लाख रूपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।
निर्धारित सुरक्षित गति सीमाभन्दा बढी गतिमा सवारी चलाउनेलाई २५ हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था पनि मस्यौदामा राखिएको छ ।
चालक अनुमतिपत्र (लाइसेन्स)बिना सवारी चलाएमा दुई तथा तीन पाङ्ग्रे सवारीलाई पाँच हजार, साना तथा मझौला सवारीलाई १० हजार र ठूला सवारीलाई १५ हजार रूपैयाँ जरिवाना गरिने प्रस्ताव गरिएको छ । एक वर्गको लाइसेन्स लिएर अर्को वर्गको सवारी चलाउनेलाई पनि सोही दरमा जरिवाना हुनेछ ।
सार्वजनिक यातायातमा निर्धारित सिट सङ्ख्याभन्दा बढी यात्रु बोकेको पाइएमा ५० हजार रूपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । सार्वजनिक सडकमा निर्माण सामग्री, मालसामान वा सवारी साधन राखेर आवागमन अवरुद्ध गरेमा पाँच हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना लाग्नेछ ।
यस्तै, हेल्मेट वा सुरक्षा पेटी नलगाई सवारी चलाएमा तीन हजार रूपैयाँ, लेन अनुशासन उल्लंघन गरेमा १० हजार रूपैयाँ, ट्राफिक संकेत पालना नगरेमा तीन हजारदेखि पाँच हजार रूपैयाँ तथा निषेधित क्षेत्रमा हर्न बजाएमा ५०० रूपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।
मस्यौदामा सवारी जाँचपास नगरी चलाउने, प्रदूषण परीक्षण प्रमाणपत्र नराख्ने, अनधिकृत रूपमा ट्राफिक संकेत बिगार्ने, बढी भाडा असुल्ने, बीमा नगरी सवारी सञ्चालन गर्ने, अनुमति बिना विदेशी सवारी नेपालमा चलाउने, असुरक्षित स्थानमा ओभरटेक गर्ने, राति बत्ती नबाली सवारी चलाउनेलगायतका कसूरका लागि पनि विभिन्न दरका जरिवानाको व्यवस्था प्रस्ताव गरिएको छ ।
साथै, सवारी साधनबाट सडकमा फोहर फाल्नेलाई एक हजार रूपैयाँ, आवश्यक कागजात साथमा नराखी सवारी चलाउनेलाई एक हजार रूपैयाँ तथा दुई पाङ्ग्रे सवारीले अफलाइन सेवा प्रदान गरेमा दुई हजार रूपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ ।
विधेयकमा जरिवाना रकम नागरिक एप वा अन्य विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था राखिएको छ । प्रस्तावित विधेयक कानुनका रूपमा पारित भएपछि मात्रै यी व्यवस्था कार्यान्वयनमा आउनेछन् ।
भिडियो सामग्री :