
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा भारी मतका साथ विजयी भएका सागर ढकालले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा सर्वाधिक मत पाउने पहिलो चार जनाभित्र परेपछि उनले यस्तो निर्णय लिएका हुन्।
सामाजिक सञ्जालमार्फत बिहीबार आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै ढकालले मतपत्रमा नाम खोज्न कठिन हुँदाहुँदै पनि आफूलाई विश्वास गरेर मतदान गर्ने प्रतिनिधिहरूप्रति आभार प्रकट गरेका छन्।
उनले अब पार्टीमा सल्लाहकारको भूमिकामा मात्र सीमित नभई संगठनलाई सही दिशामा डोर्याउन 'कुशल चालक' (ड्राइभर) बन्ने अठोट व्यक्त गरेका छन्।
संगठनभित्र समयको कडा पालना र विधिको शासन स्थापित गर्ने मुख्य एजेन्डासहित उनले दोस्रो चरणको निर्वाचनमा महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्न लागेको बताएका छन् । उनले आफ्नो जितलाई आम प्रतिनिधि र शुभेच्छुकहरूको साझा जितको रूपमा ब्याख्या गर्दै आगामी यात्राका लागि पनि सबैको साथ र सद्भावको अपेक्षा गरेका छन्।