
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सह–संयोजक माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन् । पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र नेपाल नेता कोइरालालाई भेट्न विराटनगरस्थित निवासमै पुगेका थिए ।
झन्डै ४५ मिनेट चलेको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन र कांग्रेसको वर्तमान अवस्थाबारे छलफल भएको थियो ।
भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले समसामयिक राजनीतिक मुद्दाहरूमा केन्द्रित रहेर कुराकानी भएको बताए। ‘धेरै लामो कुराकानी त भएन, तर समसामयिक राजनीति र विशेषगरी रास्वपाको महाधिवेशनलाई कसरी हेर्ने भन्नेबारे केही छलफल भयो,’ प्रचण्डले भने।
उनले कांग्रेसको पछिल्लो अवस्थाबारे पनि चासो व्यक्त गरेको जानकारी दिए। त्यसैगरी, नेकपा सह–संयोजक नेपालले पनि यो भेटलाई सामान्य राजनीतिक संवादको रूपमा अर्थ्याए।

नेताहरूले केही समयअघि कोइराला निवासमा भएको आगलागीपछिको अवस्था अवलोकन गर्न र कोइराला परिवारलाई भेट्न आफूहरू आएको समेत बताएका छन्। भेटमा तीनै जनाले लोकतन्त्रका लागि लड्नेहरूको घर नै नरहेको भन्दै ठट्टा गरेका थिए ।
जेनजी आन्दोलनका क्रममा प्रचण्ड, नेपाल र कोइराला निवाससमेत जलेको थियो । तीन नेताले ४५ मिनटसम्म गिरिजाप्रसाद कोइरालाको बैठक कक्षमै छलफल गरेका थिए ।
छलफल गरेर निस्कने बेलामा प्रचण्डले- 'गिरिजा बाबुकै बैकक्ष कक्ष रहेछ होइन ?' भनेर सोधका थिए । शेखरले- 'त्यही हो' भनेर जवाफ दिएका थिए ।