१५ असार २०८३, सोमबार
रास्वपा महाधिवेशन

६ दिनमा रास्वपाको महाधिवेशन मैझारो : नयाँ नीति बन्यो, नेतृत्व भने रविकै निरन्तर

असार १२, २०८३
चितवन
६ दिनमा रास्वपाको महाधिवेशन मैझारो : नयाँ नीति बन्यो, नेतृत्व भने रविकै निरन्तर

चितवनको भरतपुरस्थित उद्योग संघ परिसरमा आइतबारदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन शुक्रबार समापन भएको छ ।

 ६ दिनसम्म चलेको राजनीतिक सरगर्मी र मन्थनपछि रास्वपाले आफ्नो नेतृत्वमा संस्थापक सभापति रवि लामिछानेलाई नै निरन्तरता दिएको छ भने पार्टीको वैचारिक आधारमा फेरबदल गरेको छ । महाधिवेशनबाट रास्वपालाई एउटा अभियानबाट सुस्पष्ट विचार र वैधानिकतासहितको राजनीतिक दलका रूपमा रूपान्तरण गर्ने प्रयास गरिएको सभापति लामिछानेले बताए । 

महाधिवेशनले ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचनमार्फत चयन गरेको छ । सभापति पदमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भए । वाग्लेको विरुद्धमा अन्य कुनै उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत चुनिएका हुन् । 

यद्यपि, महामन्त्री र सहमहामन्त्री जस्ता महत्वपूर्ण पदहरूमा भने निर्वाचनमार्फत नेतृत्व छानियो । रास्वपाको विधान अनुसार अब १५१ सदस्यीय पूर्ण केन्द्रीय समिति बन्नेछ, जसमा ९९ जना निर्वाचित भइसकेका छन् भने बाँकी ५१ जना केन्द्रीय सदस्य सभापति लामिछानेले मनोनयन गर्नेछन् । 

यस्तै, वरिष्ठ नेता, उपसभापति, महामन्त्री, प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी थप १२ जना पदाधिकारी पनि सभापतिले नै मनोनीत गर्ने व्यवस्था छ ।

महाधिवेशनले रास्वपाको राजनीतिक सिद्धान्त परिवर्तन गरेको छ । स्थापनाकालदेखि अङ्गीकार गरिएको 'संवैधानिक समाजवाद' लाई परिवर्तन गर्दै पार्टीले अब 'सामाजिक लोकतन्त्र' लाई आफ्नो मूल सिद्धान्त बनाएको छ । 

सभापति लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संविधानलाई नै 'वाद' मान्न नहुने तर्क गरिएको छ । संविधान समयसापेक्ष संशोधन हुने दस्ताबेज भएकाले त्यसलाई नै राजनीतिक सिद्धान्त मान्दा लक्ष्यमा पुग्न गाह्रो हुने निष्कर्ष निकाल्दै रास्वपाले लोकतान्त्रिक मूल्य, प्रतिस्पर्धात्मक अर्थतन्त्र र उत्तरदायी शासनलाई केन्द्रमा राखेर सामाजिक लोकतन्त्रको बाटो रोजेको हो ।

यस्तै, प्रदेश संरचनाका बारेमा पनि रास्वपाले प्रस्ट धारणा अघि सारेको छ । सभापति लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले प्रस्तुत गरेका प्रतिवेदनहरूमा प्रदेश सभा र प्रदेश सरकारको हालको संरचनालाई पुनर्संरचना गर्नुपर्ने धारणा राखिएको छ । सङ्घीय व्यवस्थालाई जनचाहना र आर्थिक भारका आधारमा परिमार्जन गर्नुपर्ने पार्टीको आधिकारिक लाइन अब स्थापित भएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरूबिच दूरी बढेको भन्ने हल्लालाई चिर्ने प्रयास गरे । एउटै मञ्चबाट उनीहरूले आफूहरू 'कृष्ण–अर्जुन' को जोडी जस्तै रहेको सन्देश दिए । 

रविले बालेनलाई 'गोल हान्न' आग्रह गर्दै आफूले केही गरी बल पाएपनि 'बल पास' बालेनलाई नै गर्ने बताए । बालेनले पनि रास्वपाको यात्रा 'एक्सप्रेस–वे' को गाडी जस्तै भएको र गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्ने बताए । यी दुई नेताको एकताले कार्यकर्तामा उत्साह भरेको देखिए पनि महाधिवेशनको पछिल्ला दिनहरूमा गुटबन्दीका छनकहरू भने देखिएका थिए ।

उद्घाटनमा रवि र बालेनले गुटबन्दी नहुने घोषणा गरे पनि पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचनसम्म आइपुग्दा गुटगत प्यानलहरू प्रस्टै देखिए ।

विशेष गरी महामन्त्री पदमा विपिन आचार्यलाई जिताउनका लागि एउटा पक्षले बलियो मोर्चाबन्दी गरेको पाइयो । सोहीअनुसार आचार्य महामन्त्री निर्वाचित बने । जुन कार्यको महामन्त्रीकै उम्मेदवार मनिष झालगायतले आलोचना गरे । 

तर शुक्रबार शपथ ग्रहणपछि सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले गुटबन्दीका बारेमा आफ्नो धारणा राखे । उनले चेतावनीपूर्ण शैलीमा भने, 'जसले गुटबन्दीको खेती गर्न खोज्छ, त्यसको जरा उखलिन्छ ।' उनले महाधिवेशनका क्रममा देखिएका प्यानल र आन्तरिक मतभेदलाई हलभित्रै अन्त्य गर्न र अब एउटै गुट 'घण्टी' र 'निलो क्रान्ति' मात्र हुने बताए । निर्वाचनको प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यास मान्दै उनले अब सबै मिलेर पार्टी निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

महाधिवेशनमा अतिथि बनेर पुगेका अन्य दलका नेताहरूले समेत रास्वपालाई महत्वपूर्ण सुझाव दिएका थिए । आइतबारको उद्घाटन सत्रमा नेपाली कांग्रेसका गगन थापाले नेतालाई 'भगवान' बनाउने र प्रश्न गर्न डराउने संस्कृतिले पार्टी डुब्ने भन्दै रास्वपालाई सचेत गराए ।

डा. बाबुराम भट्टराईले नयाँ पुस्ताको आशाको केन्द्रका रूपमा रास्वपालाई चित्रण गरेका थिए भने भने डा. सीके राउतले जनताको ठूलो अपेक्षा पूरा गर्न नसके रास्वपाले महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । एमाले र नेकपाका नेताहरूले पनि नयाँ शक्तिको उदयलाई लोकतन्त्रको सुन्दर पक्षका रूपमा व्याख्या गरेपनि नीति र कमजोरी पक्षसमेत औँल्याएका थिए । 

६ दिन लामो महाधिवेशनको अन्तिम दिन लामिछानेले 'जान्नेलाई छान्ने' नारालाई परिमार्जन गर्दै अब 'जान्ने बनाई छान्ने' र योग्यता नभएकालाई विधिबाट बिदा गर्ने बताएका छन् ।

 महाधिवेशनले पार्टीभित्रका केही अलोकतान्त्रिक व्यवहार र गुटबन्दीको बिउ रोपिएको जस्तो पनि देखिएको छ । तर नेतृत्वमा रविकै निरन्तरता र नीतिको नयाँ बाटोले रास्वपा आगामी बाटो कसरी हिँड्नेछ त्यो भने भविष्यले नै देखाउनेछ । 

salt training

कमेन्ट गर्नुहोस्