१६ असार २०८३, मंगलबार

अभिषेक गिरी पक्राउपछि मोरङ कारागारमा तनाव, वर्तमान नाइकेलाई सरुवा नगर्न माग

असार १३, २०८३
विराटनगर
अभिषेक गिरी पक्राउपछि मोरङ कारागारमा तनाव, वर्तमान नाइकेलाई सरुवा नगर्न माग

कैदीबन्दीसँग रकम असुली गरेको आरोपमा नेपाली कांग्रेसका नेता एवं कारागारका पूर्वचौकीदार अभिषेक गिरी पक्राउ परेपछि मोरङ कारागारका कैदीबन्दीहरू आन्दोलित बनेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीलाई शनिबार बिहान विराटनगर– ८, मधुमारास्थित उनकै निवासबाट नियन्त्रणमा लिएको थियो ।

गिरीसँग मिलेमतोको आशङ्कामा प्रहरीले कारागारका वर्तमान नाइके राकेश यादवलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय ल्याएपछि कैदीबन्दीले नाराबाजी गरेका हुन् । नाइके यादवलाई कारागारबाट अन्यत्र सार्न खोजिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

गिरीलाई कारबाही गर्नुपर्ने तर यादवलाई सरुवा गर्न नपाइने उनीहरूको माग छ ।

तनाव बढेपछि प्रहरीले यादवलाई पुनः कारागारमै लगेर बयान लिन थालेको छ ।

प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गिरीको निवासमा खानतलासी समेत गरेको थियो ।

सो क्रममा घरबाट केही तमसुकहरू बरामद भएको सुरक्षा स्रोतले जनाएको छ । सुरक्षा निकायका एक उच्च अधिकारीका अनुसार गिरीले कारागारमा नाइके हुँदा जेल पर्नुअगाडिकै मितिमा विभिन्न बहानामा कैदीबन्दीहरूलाई तमसुक गराएर पैसा असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

null

गिरीमाथि कारागारका कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने जाडो र गर्मीको लुगा भत्ता तथा उनीहरूले कारागारभित्र मुडा र गलैँचा बुनेर कमाएको रकम समेत जबरजस्ती लिने गरेको आरोप छ ।

हाल मोरङ कारागारमा १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १९९ कैदीबन्दी रहेका छन् ।

उनीहरूले दैनिक ८० रुपैयाँ भत्ता पाउँछन्, जसको कुल रकम दैनिक करिब ९६ हजार रुपैयाँ हुन आउँछ ।

यसबाहेक सरकारले वार्षिक रूपमा जाडो र गर्मीका लागि छुट्टाछुट्टै २५ सयका दरले प्रतिकैदी ५ हजार रुपैयाँ उपलब्ध गराउँछ ।

कारागारभित्र करिब ५ सय जनाले मुडा र १०० जनाले गलैँचा बुन्ने काम गर्छन् । ती सामग्री बिक्रीबाट आएको रकम र सरकारी भत्तासमेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा आफ्ना सहयोगीको खातामा पठाउन लगाएर असुल्ने गरेको प्रहरी स्रोतको दाबी छ ।

पक्राउ परेका गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । प्रहरी स्रोतका अनुसार गिरीले मुटु दुखेको भन्दै अस्पताल लैजान प्रहरीलाई दबाब दिइरहेका छन् ।

मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार मिश्रले कैदीबन्दीलाई अनुचित प्रभावमा पारेर रकम असुली गर्ने गरेको सूचनाका आधारमा गिरीलाई नियन्त्रणमा लिइएको बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पढ्नुहोस्, यो पनि

कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ

 

salt training

कमेन्ट गर्नुहोस्