१८ असार २०८३, बिहीबार

ट्रम्पको चेतावनी: इरान नसुध्रिए उसको अस्तित्व नै मेटिन्छ

असार १४, २०८३
काठमाडौं
ट्रम्पको चेतावनी: इरान नसुध्रिए उसको अस्तित्व नै मेटिन्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अस्तित्व नै मेटिन सक्ने चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत इरानले आफ्नो व्यवहारमा सुधार नगरे अमेरिकाले अझ कडा सैन्य कदम चाल्ने र त्यसले इरानको नामनिसान मेटाउन सक्ने चेतावनी दिएका हुन्।

राष्ट्रपति ट्रम्पले आइतबारको आफ्नो पोस्टमा इरान कहिल्यै नसुध्रिने जस्तो देखिएको उल्लेख गर्दै अब अमेरिकाले थप संयम अपनाउन नसक्ने स्पष्ट पारेका छन्। उनले भनेका छन्, 'एउटा समय यस्तो आउन सक्छ जब हामीले सुरु गरेको सफल सैन्य अभियानलाई पूर्णता दिनुपर्ने हुन्छ। यदि त्यसो भयो भने इरानको अस्तित्व नै बाँकी रहने छैन।' ट्रम्पको यो कडा बयानसँगै अमेरिकाले इरानका विभिन्न सैन्य ठेगानाहरूमा भीषण हवाई हमला सुरु गरेको छ।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार अमेरिकी नौसेनाले होर्मुज स्ट्रेट नजिक रहेका इरानका १० वटा प्रमुख सैन्य ठेगानाहरूलाई निशाना बनाएको छ। अमेरिकाले यो कारबाही 'एम/टी किकु' नामक तेल ट्याङ्करमा इरानी ड्रोनले गरेको हमलाको जवाफमा गरिएको बताएको छ। 

करिब एक घण्टासम्म चलेको यस हवाई हमलामा इरानका मिसाइल र ड्रोन केन्द्रहरूका साथै तटीय रडार साइटहरूलाई ध्वस्त पारिएको दाबी गरिएको छ। राष्ट्रपति ट्रम्पले इरानले युद्धविराम उल्लंघन गरेका कारण यो कारबाही आवश्यक भएको बताएका छन्।
यता, अमेरिकाको यस कदमको जवाफमा इरानले पनि प्रत्याक्रमण सुरु गरेको दाबी गरेको छ। इरानको इस्लामिक रेभोलुसनरी गार्ड कर्प्सले कुवेतमा रहेको अली अल सलेम एयर बेस र बहराइनमा रहेको अमेरिकी नौसेनाको पाँचौँ फ्लीट बेसमा मिसाइल र ड्रोनबाट हमला गरेको जनाएको छ। इरानी सेनाले क्षेत्रमा रहेका अन्य अमेरिकी सैन्य अड्डाहरूलाई पनि निशाना बनाएको दाबी गरे पनि क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन।
 

salt training

कमेन्ट गर्नुहोस्