
आयोजक मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
सोमबार बिहान मेक्सिको सिटीको ऐतिहासिक एज्तेका स्टेडियममा भएको सनसनीपूर्ण खेलमा १० खेलाडीमा सीमित भएर पनि इंग्ल्याण्डले मेक्सिकोको कडा चुनौतीलाई पन्छाउँदै अन्तिम आठको यात्रा तय गरेको हो।
खेलको सुरुवाती आधा घण्टासम्म दुवै टोलीले निकै सतर्कताका साथ खेले पनि ३६औँ मिनेटमा जुड बेलिङघमले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए । बुकायो साकाको उत्कृष्ट क्रसलाई बेलिङघमले डाइभिङ हेडरमार्फत गोलमा परिणत गरेका थिए । त्यसको मात्र ९८ सेकेन्डपछि ३८औँ मिनेटमा बेलिङघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई २-० को बलियो स्थितिमा पुर्याए । तर, ४२औँ मिनेटमा मेक्सिकोका जुलियन क्विनोनेसले एक गोल फर्काएपछि पहिलो हाफ २-१ मा सकियो।
दोस्रो हाफमा खेलले थप नाटकीय मोड लियो। ५४औँ मिनेटमा इंग्ल्याण्डका डिफेन्डर जरेल क्वान्साले खतरनाक ट्याकलका लागि सिधै रातो कार्ड पाएपछि इंग्ल्याण्ड १० खेलाडीमा खुम्चिन पुग्यो । १० खेलाडीमा सीमित भए पनि ६०औँ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्याण्डको अग्रता ३-१ पुर्याए । यद्यपि, मेक्सिकोले हार मानेन र ६९औँ मिनेटमा राउल जिमिनेजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३-२ को रोमाञ्चक स्थितिमा ल्याए ।
खेलको अन्तिम २० मिनेट र ११ मिनेटको थप समयमा मेक्सिकोले इंग्ल्याण्डमाथि निरन्तर आक्रमण बुनेको थियो। अन्तिम १५ मिनेटमा मेक्सिकोको बल पोसेसन ८४ प्रतिशतसम्म पुगे पनि इंग्ल्याण्डका डिफेन्डर जोन स्टोन्स र ड्यान बर्नले पर्खाल बनेर मेक्सिकन प्रहारहरूलाई विफल तुल्याए ।
गोलकिपर जोर्डन पिकफोर्डले पनि केही महत्त्वपूर्ण बचाउ गर्दै टोलीको जित सुनिश्चित गरे । अब इंग्ल्याण्डले आगामी जुलाई १२ मा मियामीमा हुने क्वार्टरफाइनल खेलमा नर्वेको सामना गर्नेछ । आयोजक मेक्सिकोको विश्वकप यात्रा अन्तिम १६ बाटै समाप्त भएको छ।