०४ साउन २०८३, सोमबार

१ लाख ३० हजारमा नक्कली नागरिकता !, कर्मचारीको चलाखीले गिरोहको पर्दाफास

असार २५, २०८३
विराटनगर
१ लाख ३० हजारमा नक्कली नागरिकता !, कर्मचारीको चलाखीले गिरोहको पर्दाफास

असार २४ गतेको मध्याह्न, जिल्ला प्रशासन कार्यालय मोरङको प्राङ्ग्रणमा सेवाग्राहीको बाक्लो उपस्थिति थियो । त्यही भिडमा थिइन्, ३० वर्षीया मनीषा कुमारी कामत । 

सप्तरीको डाँढा स्थायी घर भई हाल विराटनगर–१४ मा डेरा गरी बस्ने मनीषाको अनुहारमा एउटा मलिन आशा थियो । श्रीमानको मृत्युपछि दुई सन्तानको लालनपालनको भारी एक्लै बोकिरहेकी उनलाई राज्यले दिने ‘एकल महिला भत्ता’ले ठूलो आड पुग्ने विश्वास थियो । 

त्यही भत्ताका लागि अनिवार्य मानिएको राष्ट्रिय परिचयपत्र बनाउन उनी नागरिकता फाँटको झ्यालमा पुगिन् र आफ्नो नागरिकताको प्रमाणपत्र कर्मचारीको हातमा थमाइन् । तर, नियतिले उनलाई अर्कै मोडमा पुर्‍याइदियो । उनको नागरिकताको रङ र अक्षरको बनावट देख्नेबित्तिकै प्रशासनका कर्मचारीले शंका गरे । 

जब सूक्ष्म जाँच गरियो, तब एउटा भयावह सत्य बाहिर आयो- मनीषाले बोकेको त्यो नागरिकता कुनै सरकारी अड्डाबाट जारी भएको आधिकारिक दस्तावेज नभई विराटनगरकै एउटा फोटो स्टुडियोमा तयार पारिएको नक्कली कागज मात्र थियो । यही एउटा घटनाले विराटनगरमा लामो समयदेखि जरो गाडेर बसेको सरकारी कागजात कीर्ते गर्ने ठूलो गिरोहको पर्दाफास गरिदिएको छ ।

मनिषाको विगतको पाना पल्टाउने हो भने उनी अपराधी होइनन्, बरु निर्मम सामाजिक र प्रशासनिक व्यवस्थाको सिकार भएको देखिन्छ । ११ वर्षअघि सुजन मण्डलसँग वैवाहिक जीवनमा बाँधिएकी मनीषाको जीवन ५ वर्षअघि तब भताभुङ्ग भयो, जब उनका श्रीमानको पानीमा डुबेर असामयिक मृत्यु भयो । 

दुई साना सन्तानको जिम्मेवारी उनको काँधमा आइलाग्यो । माइतीको सहारा खोजिन्, तर त्यहाँ पनि उनले तिरस्कार नै पाइन् । बुवाले नागरिकता बनाउन सहयोग गरेनन् भने आमा अर्कै विवाह गरेर आफ्नो बाटो लागिसकेकी थिइन् । 

‘म पढेलेखेकी छैन, नागरिकता नहुँदा न त श्रीमानको मृत्युपछि पाउने सुविधा पाएँ, न छोराछोरीको जन्मदर्ता नै गर्न सकेँ,’ प्रहरीको केरकारका क्रममा मनीषाले गहभरि आँसु पार्दै भनिन्, ‘मेरो यही विवशता र अशिक्षाको फाइदा छिमेकी अशोक कुमार श्रेष्ठले उठाए । उनले मलाई सजिलै नागरिकता बनाइदिने लोभ देखाएर आफ्नो जालमा पारे ।’

छिमेकी अशोकले मनीषा र उनका मामा सत्यनारायण कामतको समेत नागरिकता बनाइदिने भन्दै मोटो रकमको बार्गेनिङ गरेका थिए । आफ्नो र सन्तानको भविष्यका लागि मनीषाले आफ्नो गाँस काटेर, ज्याला मजदुरी गरेर जम्मा गरेको १ लाख ३० हजार रूपैयाँ पटक–पटक गरी अशोकलाई बुझाइन् । 

रकम बुझाएपछि उनलाई विराटनगर–११ महेन्द्र चोकस्थित ‘न्यू डोली फोटो सर्भिसेज’मा लगियो र त्यहीँबाट उनलाई नक्कली नागरिकता थमाइयो । गिरोहले उनलाई एउटा मनोवैज्ञानिक डरमा पनि राखेको थियो- ‘३५ दिनसम्म यो नागरिकता कसैलाई नदेखाउनु, नत्र समस्या पर्छ ।’ 

तर, राज्यले दिने भत्ताको लोभ र सन्तानको जन्मदर्ता गर्ने हतारोले उनलाई ३५ दिन कुर्न दिएन र उनी प्रशासन पुगिन्, जहाँ उनले थाहा पाइन् कि आफू नराम्ररी ठगिएकी रहिछन् । 

मनीषाको बयानले प्रहरीलाई एउटा ठूलो सफलतातिर डोर्‍यायो । मोरङ प्रहरी निरीक्षक लेखनाथ दाहालको कमान्डमा खटिएको टोलीले तत्कालै महेन्द्र चोकस्थित धनदेव राजवंशीले सञ्चालन गरेको ‘न्यू डोली फोटो सर्भिसेज’मा छापा मार्‍यो । त्यहाँको दृश्य देख्दा प्रहरी अधिकारीहरू नै स्तब्ध भए । एउटा सामान्य देखिने फोटो स्टुडियोभित्र गिरोहले सरकारी कागजात बनाउने समानान्तर ‘कारखाना’ नै चलाइरहेको पाइयो । 

छापा मार्ने क्रममा प्रहरीले १२ थान तयारी अवस्थाका नक्कली नागरिकता, १० थान खाली जन्मदर्ताका फाराम, विवाह र मृत्यु दर्ताका प्रमाणपत्र बरामद गर्‍यो । यति मात्र होइन, स्टुडियोबाट दुई थान नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) र कीर्ते काममा प्रयोग हुने न्यू डोली फोटो सर्भिसेज लेखिएको रबर स्ट्याम्प समेत जफत गरिएको छ ।

स्टुडियोबाट बरामद भएका सामग्रीले यो गिरोहले लामो समयदेखि निकै व्यवस्थित रूपमा नक्कली दस्तावेज बनाउने काम गरिरहेको पुष्टि गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरू बताउँछन् ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार यो गिरोहले संगठित रूपमै सोझा र विपन्न मानिसलाई लक्षित गरी ठगी गरिरहेको पाइएको छ । 

‘प्रशासन कार्यालयमा कर्मचारीले शंका गरेर समयमै खबर गरेपछि मात्र यो ठूलो गिरोहसम्म पुग्न सम्भव भएको हो,’ एसपी कटुवालले भने, ‘हामीले पक्राउ परेका मुख्य योजनाकार धनदेव राजवंशी र अशोक कुमार श्रेष्ठको बैंक स्टेटमेन्ट मगाएर अध्ययन गरिरहेका छौं । अहिलेसम्मको कारोबार हेर्दा यो गिरोहले धेरै व्यक्तिहरूलाई आफ्नो जालमा पारेको र ठूलो रकम असुलेको देखिन्छ ।’ 

प्रहरीले अहिले दुवै अभियुक्तमाथि सरकारी कागजात कीर्ते मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्