
जनकपुरधाम, ८ चैत- जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब)मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहँदा अमर्यादित गतिविधि गर्ने १३ जनालाई निष्कासन गरिएको छ । चिट चोरिरहेको अवस्थामा भेटिएका १३ जनालाई निष्कासन गरिएको पर्यवेक्षक विनोदलाल कर्णले जानकारी दिए ।
राराब क्याम्पसमा सञ्चालित परीक्षामा अमर्यादित गतिविधि भइरहेको सम्बन्धी समाचार लोकान्तर डट्कममा निरन्तर प्रकाशित भएपछि बिहीबार त्रिभुवन विश्वविद्यालयका परीक्षा सहनियन्त्रक अखिलेश सिंह नेतृत्वको टोली नै क्याम्पसमा आइपुगेको थियो ।
बिहीबार परीक्षामा निकै कडाइ गरियो । परीक्षार्थीलाई प्रवेशद्वारमै रोकेर मोबाइल र भेटेसम्मका चिट तथा पुस्तकहरू निकालिएको थियो । यसरी चिट निकालिएपछि परीक्षार्थीहरूले क्याम्पस परिसरमै नाराबाजी गरेका थिए ।
हेर्नुहोस्, राराबमा भइरहेको अनियमितता बारे लोकान्तरमा प्रकाशित समाचार :
त्रिविको परीक्षामा मनलाग्दी : चिट थुत्नेलाई कुटपिट, शिक्षक कुट्नेलाई जागिर ! [भाग ३]
त्रिविको परीक्षामा मनलाग्दी : १० हजार तिरे बाहिरैबाट उत्तर पुस्तिका भरेर बुझाउन सकिने [भाग २]
नपढी विशिष्ट श्रेणीमा त्रिविको परीक्षा उत्तीर्ण गर्न मन छ ? जनकपुर आउनुस् [भाग १]
त्रिविका परीक्षा सहनियन्त्रक सिंहले जनकपुरका निजी क्याम्पसमा सञ्चालित परीक्षामा पनि कडाइ गरिने बताए । राजर्शी जनक र मोडल क्याम्पसमा स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन भइरहेको छ ।

