
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज (शनिबार)देखि तीन दिने विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । सार्वजनिक सुरक्षा, सामाजिक जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ फरक–फरक स्थानमा तीनवटा विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो ।
बुटवलस्थित प्रहरी तालिम केन्द्रमा ह्याकाथन, लुम्बिनीमा शान्ति पदयात्रा तथा सामाजिक जनचेतना कार्यक्रम आयोजना गरिएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डीआइजी) भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।
फरक प्रकृति र क्षेत्रका सहभागीहरूलाई लक्षित गरी यी कार्यक्रम तय गरिएका हुन् । प्रहरी तालिम केन्द्रमा हुने ‘ह्याक फर सेफ्टी’मार्फत् प्रविधिमा रुचि राख्ने युवा, विद्यार्थी, डेभलपर, इन्जिनियर तथा नवप्रवर्तनकर्ताहरूलाई समेटिने प्रदेश प्रहरी प्रमुख खत्रीले बताए ।
परम्परागत उपायले मात्र आधुनिक सुरक्षा चुनौतीको सामना गर्न नसकिने भन्दै प्रहरीले युवाहरूलाई प्रविधिका माध्यमबाट सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग र प्रहरी सेवामा योगदान दिन आह्वान गरेको छ । यो केवल प्रतियोगिता मात्र नभई सार्वजनिक सुरक्षाका वास्तविक समस्याहरू समाधान गर्ने प्रयास भएको प्रहरीको भनाइ छ ।
त्यसैगरी, बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने ‘पिस वाक’ मार्फत शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गरिनेछ । यस पदयात्रामा विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय र सरोकारवालाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरिनेछ । शान्ति कायम राख्नु केवल प्रहरीको मात्र नभई सम्पूर्ण समाजको साझा दायित्व हो भन्ने सन्देश दिनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रदेश प्रहरी प्रमुख खत्रीले बताए ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने ‘सामाजिक सचेतना अभियान’अन्तर्गत युवा पुस्ता, विद्यार्थी, अभिभावक र आम नागरिकसँग प्रत्यक्ष संवाद गरिनेछ । उक्त कार्यक्रममा बढ्दो साइबर अपराध, लागूऔषध दुव्र्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण र डिजिटल सुरक्षाजस्ता समसामयिक विषयमा सचेतना जगाउने प्रयास गरिनेछ ।
समाजका विभिन्न वर्गलाई एउटै स्थानमा ल्याएर संवाद, सिकाइ र सहकार्यको वातावरण निर्माण गर्ने प्रहरीको योजना छ ।