०९ असार २०८३, मंगलबार

एनआरएनका वरिष्ठ उपाध्यक्षले ‘फिल्मी’ शैलीमा कुटे पत्रकार

माघ २८, २०७६
एनआरएनका वरिष्ठ उपाध्यक्षले ‘फिल्मी’ शैलीमा कुटे पत्रकार

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले पत्रकार सविन घितालमाथि फिल्मी शैलीमा कुटपिट गरेका छन् ।

पोर्चुगलमा क्रियाशील पत्रकारलाई थापाले फिल्मी शैलीमा हातपात गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । उपाध्यक्ष थापाले ‘म को हो चिन्दैनस्’ भन्दै फिल्मको दृश्यमा जस्तो उडेर, घुमेर लात्ती प्रहार गरेका थिए ।

कुटपिटको घटनालाई नजिकैबाट नियालेका दिल्ली आचार्यले भने, ‘विदेशमा रहेका नेपालीको हकहितलाई संरक्षण गर्छौ भन्ने एनआरएनकै नेताले पत्रकार कुट्न लागेपछि अब हामी सामान्य कामदारको अवस्था के होला ? नेताजीले पाखुरी सुर्काउँदै पत्रकार कुट्न थाल्नुभयो, हामी त हेरेको हेर्‍यै भयौं ।’

गायक राजेश पायल राई लगायतको उपस्थितिमा आयोजित कन्सर्टको रिपोर्टिङ गर्न पुगेका पत्रकार घिताललाई थापाले आइतवार साँझ कुटपिट गरे । धिताल ‘भ्वाइस अफ नेपाल टीभी’ र पोर्चुगलमा रहेका पत्रकारको संस्था नेप्लिज जर्नालिस्ट क्लबमा आवद्ध छन् ।

टीभीले पछिल्ला केही महिनादेखि पोर्चुगलमा कृषि कामदारको पीडा र मानव तस्करीबारे लगातार समाचार प्रकाशन गर्दै आएको छ । आक्रमणकारीले धिताललाई समाचार लेखे दुवै हात काटिदिने, जिन्दगी बर्बाद गरिदिने र बरु जेल गएर बस्ने धम्की समेत दिएका प्रत्यक्षदर्शीले जनाएका छन् ।

स्थानीय अस्पतालमा उपचारपश्चात पीडित पत्रकार धितालले प्रहरीसमक्ष उजुरी दिएका छन् । थापालाई स्थानीय प्रहरीले मंगलवारै साँझ नियन्त्रणमा लिने तयारी गरेको जनाइएको छ ।

पत्रकार महासंघ युरोप शाखाको विरोध

कुटपिटको घटनालाई लिएर नेपाल पत्रकार महासंघ युरोप शाखाले प्रेस विज्ञप्ति जारी गरेको छ । अध्यक्ष केजिन राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बेथिति र विसंगतिविरुद्ध कलम चलाउनु पत्रकारहरूको नैसर्गिक अधिकार हो । पोर्चुगलमा क्रियाशील पत्रकार सविन धितालमाथि गैरआवासीय नेपाली संघ पोर्चुगलकै कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले गरेको सांघातिक हमलाप्रति खेद प्रकट गर्दै कडा शब्दमा भर्त्सना गर्दछ । गैरआवासीय नेपालीहरूको साझा सामाजिक संस्था हो भनेर दाबी गर्ने उक्त संस्थाको नेतृत्व तहमै रहेको व्यक्तिबाट नै यो प्रकारका कायरतापूर्ण व्यवहार प्रकट हुनु वास्तावमै संस्थाको लागि शुभ संकेत होइन ।’

पत्रकार आक्रोशित

घटनालाई लिएर विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारले आक्रोश व्यक्त गरेका छन् । पत्रकार गणेश पाण्डेले घटना अत्यन्तै दुःखद भएको भन्दै आगामी दिनमा पनि दलाल प्रवृत्तिका मानिसबाट पत्रकार सुरक्षित नभएको बताए । उनले पोर्चुगलमा एरआरएनको गुण्डागर्दी रहेको बताए ।

अर्का पत्रकार पेब्बु गेलु शेर्पीले सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेखेर घटनाको विरोध गरेका छन् । उनी भन्छन्, ‘कायरताको पराकाष्ठा भनेकै भौतिक आक्रमण गर्नु हो । जोसँग सभ्यता छैन, संस्कार छैन, शैली र तर्क छैन, उनीहरूले गर्ने भनेकै भौतिक आक्रमण हो ।’ 

salt training

कमेन्ट गर्नुहोस्