
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले दातृ निकायको दबाबले सरकारले निजी क्षेत्रलाई चेपुवामा राखेको आरोप लगाएका छन् ।
उनले अन्तर्राष्ट्रिय दातृनिकायहरूले दिने अनुदान र ऋण सहयोगले मात्रै मुलुकमा समृद्धि हासिल हुन नसक्ने बताउँदै मुलुकको आन्तरिक आम्दानी बढाउनु पर्नेमा जोड दिए ।
बुटवल उद्योग वाणिज्य संघको ६७ औं स्थापना दिवसको अवसरमा आइतवार बुटवलमा आयोजना गरिएको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै उनले सरकारले अन्तर्राष्ट्रिय दातृ निकायलाई खुसी बनाउनकै लागि करको दरमा वृद्धि गरेको र त्यसैको चपेटामा उद्योग व्यवसायी परेको आरोप लगाए ।
राजश्व बढाउने नाममा निजी क्षेत्रलाई चेपुवामा पारेर असुली गर्दा उद्योगी व्यवसायी धारासायी हुँदै गएको बताउँदै उनले उद्योगी व्यवसायीका मन जितेर अगाडि बढ्न सरकारलाई आग्रह गरे ।
नेपालमा औद्योगिक उत्पादनका लागि पर्याप्त सम्भावना रहेको बताउँदै लगानी गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे ।
भारतका लागि पूर्वराजदुत समेत रहेका उपाध्यायले नेपाल भारतकाबीच खुला सिमानाका कारण नेपालको मात्रै नभएर भारतका लागि समेत उत्तिकै समस्याको विषय भएको उल्लेख गरे ।
उनले नेपालमा पानीको प्रबन्ध गर्न नसक्दा वरदान बन्न सक्ने पानीका स्रोतहरु अभिसापका रुपमा रहेको औंल्याए ।
भारतसँगका दुईपक्षीय समस्या समाधानका लागि सरकारले कुटनीतिक चातुर्यता प्रस्तुत गर्नुपर्ने बताउँदै उनले सीमा क्षेत्रमा कस्टम पोइन्ट निर्माणको काम चाँडो गर्नुपर्ने भनाइ राखे ।