घाम लाग्दा धूलोधूवाँ र पानी पर्दा हिलोका कारण चावहिल–गौशाला सडक खण्डका स्थानीय एवं त्यस क्षेत्र भएर यात्रा गर्ने यात्रुहरू आजित छन् ।
चावहिल–गौशाला सडकलाई फूटपाथसहित १५ मिटर चौडा गरी वि.सं. २०७० सालमा कालोपत्रे गरिएकोमा त्यसको केही महिना नबित्दै खाल्डाखुल्डी र धूलोहिलो हुन थालेको थियो ।
पछि खानेपानीको पाइपलाइन बिच्छ्याउन भन्दै सडक खनिएपछि महिनौंदेखि स्थानीय बासिन्दाकाे दैनिकी धूलो र हिलोबाट प्रताडित छ ।
गौशालादेखि–चावहिल चुच्चेपाटीसम्मको २ दशमलव ५ किलोमिटर सडक खण्डमा पाइपलाइन विस्तार र कालोपत्रेका लागि कालिका–बेन्दासी जेभीले २० करोड ८७ लाख रुपैयाँमा ठेक्का पाएको छ । तर, अपेक्षाकृत काम हुन सकेको छैन ।
गत मंसिरमा मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई 'राजधानीको सडकमा कतैपनि खाल्डाखुल्डी नहोस्' भन्ने निर्देशन दिएका थिए ।
पछिल्लो समय मन्त्री नेम्वाङले सडकको खाल्डाखुल्डी पुर्ने काममा ध्यान केन्द्रित गरेको बताइएपनि यस क्षेत्रको समस्यामा मन्त्रीको ध्यान जान नसकेको स्थानीयको गुनासो छ ।
अपांगता भएका व्यक्तिहरू सडकमा निस्किन सक्ने अवस्था छैन । सडक आसपासका पसलका सामानहरू धूलोले छपक्कै छोप्ने गरेको छ, जसका कारण सामानहरू ड्यामेज हुने गरेको व्यवसायी बताउँछन् ।
स्वास्थ्यमा परेको असरको त कुनै लेखाजोखा नै छैन ।
हेर्नुहोस्, भिडियो स्टोरी :