
समाजवादी पार्टीले प्रदेश ५ को नाम ‘थरुहट–अवध–मगरात’ राख्न माग गरेको छ ।
पार्टीले बुधवार पत्रकार सम्मेलन गरी प्रदेश ५ थारु, मधेशी र मगरहरुको वाहुल्य भएको प्रदेश भएकाले सबैलाई अपनत्व र पहिचान हुने गरी ‘थरुहट–अवध–मगरात’ राख्न माग गरेको हो ।
प्रदेश ५को कूल जनसंख्या मध्ये थारु,मधेशी र मगरको जनसंख्या ८० प्रतिशत भन्दा बढी रहेकाले उनीहरुको पहिचान र अपनत्वका लागि ‘थरुहट–अवध–मगरात’ राख्न उपयुक्त हुने पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादवले बताए ।
‘संघीयता भनेकै ऐतिहासिक पहिचान,अधिकार र अपनत्वका लागि हो’, यादवले भने,‘पञ्चायती व्यवस्थाकै जस्तो पहिचान विरोधी नामाकरण समाजवादीलाई स्वीकार्य छैन ।’
पार्टीले प्रदेशको स्थायी राजधानी प्रदेशका सबै जिल्लाका नागरिकलाई पायक पर्ने स्थानमा राख्न माग गरेको छ ।
सबै जिल्लाका नागरिकलाई पायक पर्ने स्थान कहाँ भन्ने बारे भने पार्टीले स्पष्ट पारेको छैन । पार्टीले प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धमा मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र समेत बुझाएको छ ।