१० असार २०८३, बुधबार

बल्ल फर्कियो मुख्यमन्त्रीको मन, सडकमा अलपत्र परेकालाई प्रदेशले गन्तव्यमा पुर्‍याउने

बैशाख ५, २०७७
बल्ल फर्कियो मुख्यमन्त्रीको मन, सडकमा अलपत्र परेकालाई प्रदेशले गन्तव्यमा पुर्‍याउने
फाइल तस्वीर

प्रदेश पाँच सरकारले बन्दाबन्दी (लकडाउन) को प्रदेश पाँचभित्र सडकमा अलपत्र परेका मजदुरहरुको गन्तव्यमा पुर्‍याउने भएको छ । लकडाउनको पालना गराउनका लागि सरकारले उनीहरुलाई खाना खुवाउदै गन्तव्यमा पुर्‍याउने बताएको हो ।

पश्चिमी जिल्लाका मजदुरहरु बुटवल हँुदै दैनिक सयौं किलोमिटर हिडिरहेको देखेपछि मुख्मन्त्री शंकर पोखरेलको मन फेरिएको छ । उनको निवास  मिलनचोक हुँदै हजारौ बाँके, बर्दिया, दाङ, रुकुम रोल्पाका मजदुरहरु काठमाडौं काभ्रेदेखि १० दिन लगाएर बुटवल हुँदै अगाडि बढेका छन । बालबच्चादेखि सुत्केरीसमेत छन ।

मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार सुरक्षा निकाय र स्थानीय तहहरुलाई प्रदेशभित्र प्रवेश गरेका नागरिकलाई अलपत्र नछाडी खाने बस्ने व्यवस्थासहितको अस्थायी क्वारेन्टाइनमा राख्न निर्देशन दिएका छन् । उनले आफनो फेसबुक वालमा समेत स्टाटस राखी त्यस विषयलाई उल्लेख गरेका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले विभिन्न ठाउँबाट हिडेर प्रदेशभित्र प्रवेश गर्ने व्यक्तिहरुलाई सुरक्षाकर्मीको सहयोगमा रोकेर प्रारम्भिक स्वास्थ्य जाँच गरी अस्थायी क्वारेन्टाइनमा राखिने बताए । उनीहरुको खानपान र बसाई व्यवस्थापन पनि सम्बन्धित स्थानीय तहहरुले गर्नेछन् । त्यसपछि ति व्यक्तिहरुको विवरण लिएर जो जुन स्थानीय तहका व्यक्ति हुन् समन्वय गरी उनीहरुलाई गन्तव्यसम्म पुर्‍याउन पनि प्रदेश सरकारले समन्वय गर्नेछ ।

प्रदेश सकारले शुक्रबारदेखि नै पूर्वबाट आएका नागरिकलाई बस्न र खानका लागि बर्दघाटमा व्यवस्था मिलाएको जनाएको छ । शुरुमा एक सय जनाको लागि व्यवस्था गरिएकोमा मान्छेको संख्या हेरेर बढाउन समेत स्थानीय तहलाई भनिएको केसीले जानकारी दिए । केही दिन अघि प्रदेश ५ सरकारले कोरोनाको सतर्कताका लागि बजेटको व्यवस्था गरेको थियो । त्यस रकमबाट क्वारेन्टाइन व्यवस्थापन तथा अलपत्रहरुको खानपिनका लागि स्थानीय तहले व्यवस्थापन गर्न सक्ने प्रदेश सरकारले जनाएको छ ।

जसका लागि प्रदेश ५ सरकारले गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख, उपमहानगरपालिकालाई २० लाख अनुदानको व्यवस्था गरिसकेको छ । त्यसमध्ये नेपालगञ्ज उपमहानगर, सिद्धार्थनगर नगरपालिका अरुले भन्दा थप ५ लाख अनुदानको व्यवस्था गरेको छ । मुख्यमन्त्री कार्यालयका अनुसार भारतीयको समेत व्यवस्थापन गर्नुपर्ने भएकाले नेपालगन्ज उपमहानगरपालिकालाई २५ लाख र सिद्धार्थनगर नगरपालिकालाई २० लाख व्यवस्था गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्