
धवलागिरि अञ्चल अस्पताल बागलुङमा पहिलो पटक सघन उपचार कक्ष निर्माण गरिएको छ। तीन शय्या क्षमताको आइसियुले एक हप्ताभित्रै सेवा दिन थाल्नेछ।
साविक धवलागिरि अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वत जिल्लाका जनतालाई लक्ष्य गरी अस्पताल बागलुङमा आइसियु सेवा दिइनेछ। धौलागिरिमा आइसियु सेवासहितको सुविधासम्पन्न अस्पताल नहुँदा धौलागिरिवासी आइसियु सेवाकै लागि पोखरालगायत शहरमा जाँदै आएका थिए।
अस्पताल स्थापना भएको ६० वर्षपछि आइसियु सेवा शुभारम्भ हुन थालेको छ । संघीय सरकारको एक करोड र गण्डकी प्रदेश सरकारको ५० लाखको लागतमा अस्पतालमा आइसियु निर्माण भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए।