१२ साउन २०८३, मंगलबार

जब माता सीताले लक्ष्मणलाई निल्नुभयो

कात्तिक २०, २०७४
जब माता सीताले लक्ष्मणलाई निल्नुभयो

मर्यादा पुरुषोत्तम श्रीरामले रावणको वध गरेर माता सीतालाई अवधपुरी ल्याउनुभएपछिको कुरा हो । त्यतिखेर अयोध्या नगरीलाई भव्य रूपमा सजाइएको थियो । उत्सव मनाइँदै गर्दा सीताजीले एउटा कुरा सम्झिनुभयो । वनवास जानुपूर्व सरयू नदीसँग उहाँले वाचा गर्नुभएको थियो, फेरि आफ्नो पति र देवरका साथ सकुशल अयोध्या आएँ भने हजुरको विधिवत पूजाअर्चना गर्छु ।


त्यसका लागि सीताजी लक्ष्मणलाई साथमा लिएर सरयू नदी पुग्नुभयो । उहाँले लक्ष्मणलाई जल ल्याउन लगाउनुभयो । लक्ष्मण जलका लागि घडा लिएर सरयू नदीभित्र पस्नुभयो । उहाँले जल भर्दै गर्दा सरयूको जलबाट अघासुर नामक राक्षस निस्कियो र उसले लक्ष्मणलाई निल्न खोज्यो ।

सीताले यो देखेपछि अघासुरले निल्नुअघि नै आफैंले लक्ष्मणलाई निल्नुभयो । लक्ष्मणलाई निलेपछि उहाँको शरीर पूरै गलेर जल बन्यो । अदृश्य बसेर हनुमानजीले यो सबै घटना हेरिरहनुभएको थियो । सीताजीको तनरूपी जललाई हनुमानजीले घडामा भरेर श्रीरामसमक्ष ल्याउनुभयो र सबै घटनाक्रम सुनाउनुभयो ।

यो सुनेपछि श्रीरामले हाँस्दै भन्नुभयो, ‘हे हनुमान्, सबै राक्षसलाई त मैले मारिसकें र यो अघासुर पनि मेरै हातबाट मर्ने नै थियो । यसलाई महादेवबाट वरदान प्राप्त भएको थियो । त्रेतायुगमा सीता र लक्ष्मणको शरीर एक तत्त्वमा परिणत भएपछि त्यही तत्त्वले यो राक्षसको वध गर्नेछ र त्यस तत्त्वलाई रुद्रावतारी हनुमानले अस्त्रका रूपमा प्रयोग गर्नेछन् । त्यसैले तत्कालै यो जललाई सरयू जलमा आफ्नै हातल् प्रवाहित गरिदेऊ । यो जल सरयूसँग मिसिँदा अघासुरको मृत्यु हुन्छ र सीता तथा लक्ष्मणले आफ्नो शरीर प्राप्त गर्छन् ।’

हनुमानजीले घडाको जललाई आदि गायत्री मन्त्रबाट अभिमन्त्रित गरेर सरयूको जलमा प्रवाहित गर्नुभयो । घडाको जल सरयूमा मिसिँदा भयंकर ज्वाला उत्पन्न भयो र अघासुर त्यसैमा जलेर म–यो । अनि सरयूले फेरि सीता र लक्ष्मणलाई नवजीवन दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्