१२ असार २०८३, शुक्रबार

आइसोलेसन बेडको अभावमा कोरोना संक्रमितको बिचल्ली, क्वारेन्टाइनमै बस्न बाध्य

जेठ ११, २०७७
आइसोलेसन बेडको अभावमा कोरोना संक्रमितको बिचल्ली, क्वारेन्टाइनमै बस्न बाध्य

पश्चिम नवलपरासीमा शुक्रवार तीन जनामा कोरोनाभाइरस (कोभिड १९) पुष्टि भयो । तीमध्ये एक जनालाई रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा पठाइएपनि आइसोलेसन अभावमा अन्य २ जना जिल्लाकै क्वारेन्टाइनमा बस्न बाध्य छन् । 

उनीहरू सदरमुकाम परासीस्थित आदर्श माविको क्वारेन्टाइनमै छन् । संक्रमितले पाउनुपर्ने उपचार सेवाबाट वञ्चित भएपछि उनीहरू मानसिकरूपमा त्रसित हुन थालेका छन् । प्रदेश सरकारले तराईका जिल्लामा २ सय पहाडमा ५० बेडको आइसोलेसन सेन्टर बनाउने नीतिगत निर्णय गरेको छ । 

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले आइसोलेसन बनाउने काम जिल्ला स्थानीय तहको नभएको भन्दै त्यसको व्यवस्थापन गर्न नसक्ने बताए । संक्रमितलाई प्रदेश सरकारले नै लगेर व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ । क्वारेन्टाइनमा राखेका कारण अन्य व्यक्तिहरू त्रसित बनेको र अन्यन्त्र लैजानु पर्ने माग राख्न थालेको गुप्ताले बताए । 

बाँकेपछि प्रदेश पाँचको सबैभन्दा बढी संक्रमित जिल्ला कपिलवस्तु हो । जिल्लाको वाणगंगा नगरपालिकामा संक्रमित धेरै छन् । आइसोलेन अभावले वाणगंगाका संक्रमितलाई अहिलेसम्म क्वारेन्टाइनमै राखिएको नगर प्रमुख मंगलप्रसाद थारूले बताए ।

‘आइसोलेन कहाँ बनाउने भन्ने अझै टुंगो नलाग्दै धमाधम संक्रमित थपिए । संक्रमितलाई सिद्धार्थ क्याम्पसमा बनाइएको क्वारेन्टाइनमै राखिएको छ । सबैलाई छुट्टाछुटै कोठामा राखिएको छ ।’
जिल्लामा अहिले पनि भारतबाट आउनेको संख्या बढ्दो छ ।

रूपन्देहीको गैडहवा गाउँपालिका शनिवार संक्रमण पुष्टि भएकाहरू पनि क्वारेन्टाइनमै छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले आइसोलेन बेड नपाउँदा उनीहरूलाई क्वारेन्टाइनबाट आइसोलेसनमा सार्न नसकिएको बताए । 

‘बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट हिजो निको भएर गएकाहरूको ठाउँमा पठाइयो । अरू गाउँकै क्वारेन्टाइनमा छन् ।

पाल्पामा आइसोलेसन खाली रहेछ त्यहीँ पठाउने कि भन्ने छलफल चलिरहेको छ,’ घिमिरेले भने । बाँकेमा संक्रमितको संख्या १४२ पुगेको छ । संक्रमण तीव्र गतिमा फैलिएको छ । अन्य पाँच प्रदेशको तुलनामा प्रदेश ५ मा ढिला गरी कोरोना देखियो । धेरै क्षेत्र भारतसँग जोडिएको प्रदेशमा संक्रमित धेरै भारतबाट आएका हुन् ।

आइसोलेनसमा संक्रमित चिकित्सको निगरानीमा हुन्छन् । तर क्वारेन्टाइनमा चिकित्सकहरू पुग्न सक्दैनन् । प्रदेशले कोरोना उपचारका लागि बनाइएका बुटवलको धागो कारखाना, भैरहवाको भीम अस्पताल, दाङको बेलझुण्डी र बाँकेको सुशील कोइराला प्रखर अस्पताल कोरोनाको बिरामीले भरिएका छन् । 

बुटवलको धागो कारखानमा २ सय बेडको आइसोलनस थप गर्ने भनिएपनि अहिलेसम्म बन्न सकेका छैनन् । प्रदेशका सबै जिल्लामा कम्तीमा ५० बेडको आइसोलेसन बन्न नसक्दा बिरामीको सही रूपमा व्यवस्थापन गरेको उपचारमा समस्या भएको छ । 

प्रदेशका भारतसँग जोडिएका तराईका ६ जिल्लामा भारतबाट आएकाहरूलाई राख्न विद्यालयहरूलाई क्वारेन्टाइन बनाइएको छ । भारतबाट आएकाहरूमा संक्रमण हुने दर तीव्र छ ।

प्रदेश स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले सबै जिल्लालाई आइसोलेसन बनाएर संक्रमित बिरामीलाई जिल्लामै उपचार गर्ने व्यवस्था गर्न जिल्ला र पालिकालाई निर्देशन गरिएको बताए ।

अबको केही दिनभित्र बुटवलको धागो कारखानाको कोरोना अस्पतालमा २ सय बेड थप गरिने उनले बताए ।  

कुन जिल्लामा कति संक्रमित  

प्रदेश ५ को सबैभन्दा धेरै कोरोना संक्रमित बाँकेमा छन् । बाँकेमा अपडेट १४२ संक्रमित छ ।

बाँकेमा आइसोलेसन अस्पताल र आइसोलेसन सेन्टरमा व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्याक्रम बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । त्यस्तै कपिलवस्तुमा ८० जना संक्रमितमध्ये अस्पतालबाहिर छन् ।

त्यस्तै दाङमा ५, बर्दियामा ३, पश्चिम नवलपरासी ५, रूपन्देही ४० र गुल्मीमा २ लाई संक्रमण देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्