
तनहुँ जिल्लामा पनि कोभिड- १९ संक्रमणका बिरामी भेटिएका छन् । यससँगै गण्डकी प्रदेशका ११ जिल्लामध्ये ६ जिल्लामा कोभिड फैलिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनको नतिजा कोरोना पोजेटिभ आएको थियो ।
ती युवक ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । यस्तै, स्याङ्जामा समेत आइतबार थप २ जना पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।
गल्याङ नगरपालिकाका घर भई स्थानीय क्वारेन्टाइनमा बस्दै आएका वर्ष २७ र वर्ष ४० का पुरुषमा कोरोना संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
संक्रमित बिरामीहरूलाई उपचारका लागि सम्बन्धित जिल्लाको अस्पतालमा लैजाने तयारी भइरहेको जनाइको छ ।
गण्डकीमा हालसम्म संक्रमितको संख्या २४ पुगेको छ, तीमध्ये ३ जना निको भई घर फर्केका छन् ।
गण्डकी प्रदेशमा पहिलोपटक चैत दोस्रो साता कोभिड– १९ संक्रमण भेटिएको हो । चैत ४ मा कतार एयरवेजमार्फत आएकी बागलुङकी १९ वर्षिया युवतीमा चैत १२ मा कोरोना पुष्टि भएको थियो ।
बागलुङसहित क्रमशः नवलपुर, लमजुङ, स्याङ्जा, म्याग्दी र तनहुँमा कोरोना भेटिएको हो ।
प्रदेश राजधानी पोखरा रहेको कास्की जिल्लामा भने हालसम्म कोभिड १९ को संक्रमण भेटिएको छैन ।
हेर्नुहोस्, विज्ञप्ति :
