२४ असार २०८३, बुधबार
कोरोना व्यवस्थापनमा सफलता

नरैनापुरको स्थिति नियन्त्रणमा, गाउँपालिका अध्यक्ष भन्छन्– 'कोरोनाले हामीलाई धेरै सिकायो'

जेठ १९, २०७७
नरैनापुरको स्थिति नियन्त्रणमा, गाउँपालिका अध्यक्ष भन्छन्– 'कोरोनाले हामीलाई धेरै सिकायो'

गत जेठ ७ गते बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले लोकान्तरसँग भनेका थिए – ‘गाउँपालिकामा कोरोना संक्रमणको स्थिति नियन्त्रणबाहिर पुगिसकेको छ । सम्हाल्न सकिनँ, टाउकोमा हात राखेर रुँदैछु ।’

त्यसयता धेरै सञ्चारमाध्यमहरूले त्यहाँको स्थितिका बारेमा फूल कभरेज दिए । संघीय सरकारले वास्ता गर्न थाल्यो । क्वारेन्टाइन व्यवस्थापन गर्न सरकारले ५० जना जति सेना खटायो ।

अहिले तिनै अध्यक्ष भन्छन् – ‘स्थिति कन्ट्रोलमा आयो । यसका लागि सञ्चारमाध्यम, संघीय सरकार र प्रादेशिक सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

त्यतिबेला भारतको मुम्बईबाट आएका एक संक्रमित गम्भीर बनेपछि एम्बुलेन्स खोज्दाखोज्दै ज्यान गुमाएका थिए ।

पढ्नुहोस् यो पनि - 

नरैनापुर गाउँपालिका अध्यक्ष भन्छन्– 'सम्हाल्न सकिनँ, टाउकोमा हात राखेर रोइराछु'

अध्यक्ष साहले लोकान्तरसँग भने, ‘अहिले १६ वटा क्वारेन्टाइन छन् र अधिकांश खाली छन् । भारतबाट आउनेको संख्यामा कमी आएको छ । त्यतिबेला १ हजार जति क्वारेन्टाइनमा थिए । सबैको परीक्षण एकैसाथ गर्न सम्भव थिएन । अहिले परीक्षणपश्चात नेगेटिभ आएकाहरू धमाधम घर जान थालेका छन् ।’

अहिले र्‍यापिड टेस्टमा पोजिटिभ आएका ९० जना रहेका छन् ।

तिनीहरूको पीसीआर नमूना संकलन भइसकेको छ । एकाध दिनमा तिनीहरूको रिपोर्ट आएपछि क्वारेन्टाइन लगभग खाली हुने अध्यक्ष साहको भनाइ छ ।

अहिले १६ वटा क्वारेन्टाइनमा जम्मा २ सय ५० जति सम्भावित संक्रमितहरू छन् ।

पढ्नुहोस् यो पनि - 

बाँके नरैनापुरको क्वारेन्टाइनमा ज्यान गुमाएका २५ वर्षीय युवाको मुम्बईदेखि क्वारेन्टाइनसम्मको दर्दनाक कथा

दुई साताअघि परिस्थिति नियन्त्रणबाहिर जाने जोखिम रहेको भन्दै नरैनापुरले संघीय सरकारलाई पत्र लेखेको थियो । पत्रको जवाफमा संघीय सरकारले सेना खटायो । परीक्षण किटहरू उपलब्ध गरायो । ढिलो आउने परीक्षण रिपोर्ट अलि छिटो गर्न प्रयोगशालालाई दबाब दियो ।

‘२ सातामा नरैनापुरको मुहार अलि हँसिलो भएको छ,’ अध्यक्ष साहले खुसी हुँदै लोकान्तरसँग भने, ‘अब कोरोनाको यो फेज आउट होस्, यो ठाउँलाई विकास गर्न के गर्नुपर्ने हो, त्यो मेरो दिमागमा बसिसकेको छ ।’

नरैनापुरमा हालसम्मको संक्रमित संख्या १ सय १५ छ भने एकजनाको मृत्यु भएको छ ।

संक्रमितलाई नेपालगंजस्थित लायन्स डेन्टल अस्पताल, बेलझुण्डी कोरोना अस्पताल, कृषि विकास बैंकको तालिम केन्द्र लगायतका आइसोलेसनमा लगेर राखिएको छ ।

तीमध्ये धेरैजसो निको भएर डिस्चार्ज भएका छन् ।

पढ्नुहोस् यो पनि - 

मन्त्रीसँग नरैनापुरका जनप्रतिनिधिको गुनासो- कोरोना संक्रमितले थेग्नै नसक्ने हुँदा पनि सुनुवाइ भएन

विरोधीहरूले फैलाएको भ्रमले काम गरेन

अध्यक्ष साह स्मरण गर्छन्– ‘यहाँ समुदायकै मान्छेले कोरोनाका बारेमा भ्रम फैलाउने काम गरे । संक्रमण भएकालाई गोली हानेर मार्छन् समेत भन्न भ्याए । चेतनाको स्तर अत्यन्त न्यून हुँदा पनि हामी आत्तिएका थियौं । मान्छेहरूले क्वारेन्टाइनको नियम पालना गर्न मानिरहेका थिएनन् । खटाइएका प्रहरीहरू निरीह देखिन्थे ।’

उनले त्यतिबेला भ्रम फैलाउनेहरूलाई आफूले कारवाहीका लागि सिफारिस गरेको भएपनि अहिलेसम्म कारवाही नभएको दु:खेसो पोखे ।

‘विरोधीहरूले त्यतिबेला खुब भ्रम फैलाए,’ अध्यक्ष साहले भने, ‘अध्यक्षले केही गरेन भनेर ममाथि पनि आरोप लगाए । तर म आफैं चौबीसै घण्टा खटिएको थिएँ । हामी नखटिएको भए परिस्थिति नियन्त्रणमा आउँदैनथियो, विरोधीहरूको भ्रम चिरिएको छ ।’

अस्तव्यस्तताका बावजुद पनि बाटो र बिजुली पुग्दै नरैनापुरमा

अध्यक्ष साहले केही दिनमा गाउँमा बिजुली पुग्ने बताए ।

‘यो संक्रमणले गाउँपालिकालाई अस्तव्यस्त बनायो, तर हामीले अन्य कामहरू पनि साथसाथै गरिरहेका थियौं । गाउँमा बिजुली थिएन, अब केही दिनमा सबै ठाउँमा पुग्छ,’ उनले भने, ‘नेपालगञ्जबाट जाने बाटो पनि बनेको छ, पहिला थिएन ।’

नरैनापुर बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्वमा पर्छ । राप्तीपारि भारतसँग सिमाना जोडिएको नरैनापुरमा ६ वटा वडा छन् ।

नरैनापुरका जनता सामान्य किनमेल गर्न पनि भारत जाने गर्छन् ।

‘बाटो बनेपछि अब त्यो स्थिति अन्त्य हुन्छ जस्तो लाग्छ,’ उनले भने, ‘दुर्गम गाउँपालिका हो नरैनापुर । कोरोनाले हामीलाई सिकाएको छ । अब हामी मान्छेको सोच परिवर्तन गर्नतिर लाग्छौं ।’

२ साताअघि कर्फ्यू घोषणा गरिएको नरैनापुरको जीवन अहिले केही खुकुलो भएको छ ।

अध्यक्ष साह भन्छन्, ‘कोरोनाका कारणले हामीले पाउनुपर्ने दु:ख पाइसक्यौं जस्तो लाग्छ । परिस्थिति नियन्त्रणमै छ । बाटो र बिजुली गाउँमा पुगेपछि मुहार पूरै फेरिन्छ भन्नेमा हामी ढुक्क छौं ।’

उनले अझै पनि गाउँमा स्वास्थ्यकर्मीहरूको संख्या अपुग भएको भन्दै दु:खेसो पोखे ।

‘जति हुनुहुन्छ उहाँहरू एकदम धेरै खटिनुभएको छ । स्वास्थ्यकर्मी मात्र नभएर जनप्रतिनिधिहरू, सुरक्षाकर्मीहरू चौबिसै घण्टा खटियौं । त्यसैले अहिले केही भएपनि राहत जस्तो महसुस भएको छ ।’

कोरोना नियन्त्रणमा उदाहरण नरैनापुर   

देशभरि संक्रमणको आतंक बढिरहेका बेला नरैनापुरले संक्रमण नियन्त्रण गरेर अन्य स्थानीय तहलाई पनि संदेश दिएको छ ।

कुनैबेला अनियन्त्रित बनेको नरैनापुरले अहिले केही राहत महसूस गरिरहेको छ । संघीय र प्रादेशिक सरकारले अन्य ठाउँमा पनि नरैनापुरलाई जस्तो गरेर प्राथमिकतामा राखेर काम गर्ने हो भने अन्त पनि कोरोना नियन्त्रणमा आउने अध्यक्ष साहले बताए ।

यद्यपि साहले अझै पनि आफूहरूले क्वारेन्टाइन व्यवस्थापन, आधारभूत आवश्यकता, बिजुली, पानी र शौचालयका लागि भनेर मागेको बजेट नआइसकेको गुनासो गरे । सेना परिचालनपछि स्थानीयहरू अलि बढी अनुशासित भएका छन् । क्वारेन्टाइनबाट भाग्न खोज्नेको संख्या अहिले शून्य छ ।

अहिले सशस्त्र प्रहरीले बोर्डर एरिया पनि राम्रोसँग हेरिरहेको अध्यक्ष साहले बताए ।

‘परिस्थिति नियन्त्रणबाहिर जान लागेपछि जेजे गर्न सक्थ्यौं हामीले गरेका हौँ । कोरोनाको हटस्पट बनेका अन्य ठाउँहरूमा पनि जनप्रतिनिधिले हार खानु भएन । संघीय र प्रादेशिक सरकारसँग स्पष्ट समन्वय हुनुपर्‍यो । यो जित्न सकिने युद्ध हो ।’

salt training

कमेन्ट गर्नुहोस्