२४ असार २०८३, बुधबार

ठमेललाई नयाँ उचाइमा लैजाने प्रतिबद्धतासहित महासचिवमा पून्यराम लगेजुको उम्मेदवारी

असार २४, २०८३
काठमाडौं
ठमेललाई नयाँ उचाइमा लैजाने प्रतिबद्धतासहित महासचिवमा पून्यराम लगेजुको उम्मेदवारी

ठमेल पर्यटन विकास परिषद्को महासचिवमा पून्यराम लगेजुले उम्मेदवारी दिएका छन् । असार अन्तिम साता हुने परिषद्को साधारणसभा एवम् अधिवेशनका लागि हालका सचिव लगेजुले महासचिव पदमा उम्मेदवारी दिएका हुन् । 
पर्यटन व्यवसाय, शहरी व्यवस्थापन, सुरक्षा, रात्रिकालीन अर्थतन्त्र, सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय छविसँग प्रत्यक्ष जोडिएको ठमेल पर्यटन विकास परिषद्ले नयाँ नेतृत्व चयन गर्दै छ । नयाँ नेतृत्वका लागि परिषद्मा एक कार्यकाल सचिव र दुई कार्यकाल कोषाध्यक्षका रुपमा काम गरिसकेका पून्यरामले आफ्नो महासचिव पदको उम्मेदवारी घोषणा गरेका हु्न् । 

करिब २४ वर्षदेखि ठमेलको पर्यटन व्यवसायमा सक्रिय लगेजु परिषद्को नेतृत्वमा रहेर काम गरिसकेका छन् । उनले दुई कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् । यही अनुभव, व्यवसायीबीचको निरन्तर उपस्थिती र नीतिगत पैरवीको पृष्ठभूमिलाई आधार बनाएर उनले महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।

ठमेलले पूर्वाधार, सडक व्यवस्थापन, पैदलमैत्री क्षेत्र, सरसफाइ, सुरक्षा र अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । रात्रीकालीन अर्थतन्त्रलाई व्यवस्थित बनाउने, पर्यटकमैत्री सेवा विस्तार गर्ने, डिजिटल प्रवद्र्धन, साना तथा मझौला व्यवसायीको संरक्षण, पार्किङ, ट्राफिक व्यवस्थापन, फुटपाथ अतिक्रमण, सडक कलाकार तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापन, फोहोर व्यवस्थापन र विश्वस्तरीय पर्यटकीय गन्तव्यको रूपमा ठमेललाई थप स्थापित गर्ने लगेजु बताउँछन् । परिषद्लाई केवल औपचारिक संस्था होइन, नीति निर्माणमा प्रभाव पार्ने, सरकारसँग समन्वय गर्ने र व्यवसायीका साझा मुद्दामा परिणाममुखी रूपमा काम गर्ने संस्थाका रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

‘परिषद्को भूमिका छलफल गर्ने मञ्चमा मात्र सीमित हुनु हुँदैन, बरु सरकार, स्थानीय तह, सुरक्षा निकाय र निजी क्षेत्रबीच प्रभावकारी पुलको भूमिका निर्वाह गर्दै ठोस परिणाम निकाल्ने संस्थाका रूपमा स्थापित हुनुपर्छ’, उनले भने, ‘वर्षौंदेखि ठमेलका व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने काममा सक्रिय छु, यहाँको दुःख सुखमा हरपल खडा भएको छु । ठमेलका व्यवसायीका समस्या वर्षौंदेखि बुझ्दै आएको छु । ती समस्या सम्बन्धित निकाय र केन्द्रसम्म पुर्‍याउने काम निरन्तर गरेको छु । मेरो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षाका लागि होइन, ठमेललाई अझ व्यवस्थित, सुरक्षित, सुन्दर र प्रतिस्पर्धी पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका लागि हो ।’ 

परिषद्ले अब व्यवसायीको अधिकार संरक्षणसँगै नीति निर्माण, पर्यटन प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण र अन्तर्राष्ट्रिय बजारमा ठमेलको ब्रान्डलाई थप मजबुत बनाउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने समय आएको उनको भनाइ छ । 

परिषद्को निर्वाचनका लागि लगेजुले प्रश्रयराज भण्डारीको प्यानलबाट महासचिव पदको उम्मेदवारी दिएका हुन् । भण्डारीको प्यानलबाट प्रकाश थपलिया सचिव, रमेश थापा तृतीय उपाध्यक्ष, कमल अर्याल सदस्य, कृष्ण थपलिया प्रथम उपाध्यक्ष र रोशन अधिकारीले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्