
पोखरामा उपचारका क्रममा ज्यान गुमाएका कोरोना संक्रमित पुरुषको शव १३ घण्टा बित्दासम्म व्यवस्थापन हुन सकेको छैन ।
स्याङ्जाको वालिङ–३ घर भइ ४ दिनदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका ५८ वर्षीय पुरुषको आइतवार राति ११ः२५ बजेमा मृत्यु भएको थियो । उनको मृत्युको लामो समय बित्दासमेत शव व्यवस्थापन हुन सकेको छैन ।
कोरोना संक्रमित व्यक्तिको मृत्युपछि शव व्यवस्थापन कार्यको संयोजक सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुने कार्यविधिमा उल्लेख छ । यसबारे कास्कीका सीडीओ ज्ञानप्रसाद ढकालले पोखराको हरियोखर्क नजिक शव गाडिने जनाए पनि अझसम्म प्रक्रिया अघि बढको छैन । उनका अनुसार शव व्यवस्थापन जिम्मा नेपाली सेनाको फूलबारी व्यारेक भगवती दललाई दिइएको छ भने ठाउँ खोज्ने काम पोखरा महानगरको हो ।
पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलले निराश हुँदै भने, ‘जहाँ गए’नि विरोध गर्छन् । एकछिन पख्नोस् है ! हुँदैछ ।’
सीडीओ ढकालका अनुसार हरियो खर्क अस्पताल नजिक जंगलमा गाडिने भनिए पनि स्थानीयको विरोधपछि खाल्डो खन्न गएको महानगरको जेसीबी फर्किएको छ ।
पोखरा महानगरले शव व्यवस्थापनका लागि ठाउँको टुंगो लगाउन नसक्नु र स्थानीयको विरोध हुँदा कहाँ लगेर गाड्ने भन्नेबारे अन्योल सिर्जना भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले शव व्यवस्थापन कार्य स्थानीय तहको समन्वयमा जिल्ला प्रशासन कार्यालयले गर्ने हुँदा यसबारेमा आफूलाई थाहा नहुने स्पष्ट पारे ।
फूलबारी व्यारेकले भने आफ्नो टीम तयार रहेको र फिल्ड टुंगो लागेपछि सेनाले समन्वय गर्ने जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले मृत्यु भएका पुरुषको सम्पर्कमा आएका चिकित्सक, परिवार सदस्य एवं अन्य सबैको टे«सिङ गरी केही दिनभित्र स्वाब परीक्षण गरिने बताए ।
भारतबाट वालिङ फर्केका ५८ वर्षीय ती पुरुषलाई वालिङमा क्वारेन्टीनमा राखिएकोमा स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्टै जेठ २२ गते पोखरामा उपचारार्थ ल्याइएको थियो ।
शुरूआतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिआइसोलेसन वार्डमा राखिएकोमा जेठ २५ गते कोरोना पुष्टि भएपछि आइसोलेसनमा राखिएकोमा आइतवार राति निधन भएको हो । उनको उपचारका क्रममा कोरोना पुष्टि नहुञ्जेलसम्म आमा र छोरी पनि प्रत्यक्ष सम्पर्कमा थिए । हाल दुवै जनालाई पोखरामा क्वारेन्टीनमा राखिएको छ ।
मृत्यु भएका ती पुरुष मिर्गाैला, मधुमेह लगायत रोगबाट ग्रसित रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ । यो गण्डकीमा कोरोनाबाट मृत्यु हुने पहिलो घटना हो । यससँगै नेपालमा कोरोना संक्रमितको मृत्यु १४ पुगेको छ ।