०९ असार २०८३, मंगलबार

प्रदेश ५ का चार जिल्लामा २ सयभन्दा बढी संक्रमित : गृहको परिपत्र नआउँदा अन्योलमा लकडाउन !

असार ५, २०७७
प्रदेश ५ का चार जिल्लामा २ सयभन्दा बढी संक्रमित : गृहको परिपत्र नआउँदा अन्योलमा लकडाउन !

कोरोनाको ‘इपिसेन्टर’ बनेको प्रदेशमा ५ का चार जिल्लामा संक्रमितको संख्या २ सयभन्दा माथि पुगेको छ । कपिलवस्तु, बाँके, दाङ र रूपन्देहीमा संक्रमित २ सयभन्दा माथि छ । 

१ सयभन्दा बढी संक्रमित रहेको जिल्लाको संख्या ७ पुगेको छ । प्रदेश ५ मा संक्रमतिको संख्या दुई हजार माथि छ ।  कपिलवस्तुमा ६७४, बाँकेमा ३२७, दाङमा २५१ र रूपन्देहीमा २४० छन् । 

सरकारले २ सयभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्लामा फेरि लकडाउन लम्ब्याउन सकिने गरी नयाँ मापदण्ड बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको नयाँ मापदण्डमा तीन प्रकारको व्यवस्था गरिएको छ ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेश ५ मा संक्रमितको संख्या २ हजार १ सय १८ छ । प्रदेश ५ का १२ वटै जिल्लामा संक्रमण फैलिएको छ ।

त्यस्तै बर्दियामा १४४, अर्घाखाँचीमा १५५, गुल्मीमा १०७, प्युठानमा ७३, पाल्पामा ४९, पश्चिम नवलपरासीमा ४९, रोल्पामा ४१ र रुकुम पूर्वमा ३ जना संक्रमित पुगेको छन् । 

प्रदेशमा २१ हजार ७ सय ६० जनाको जाँच पीसीआर जाँच गरिएको छ । अझै ८ हजार ५६२ जनाको स्वाबको रिपोर्ट आउन बाँकी छ । 

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका प्रशासकीय अधिकृत मनोजकुमार सैनीले दुई सयभन्दा बढी संक्रमित भएका जिल्लामा पुन लकडाउन गर्न सकिने स्वास्थ्यको नयाँ मापदण्डबाट आफूहरूलाई गृह मन्त्रालयबाट निर्देशन नआएको बताए ।

उनले भने, ‘हामीलाई गृहले सर्कुलर गरेको छैन । हामी मन्त्रिपरिषद्को निर्णयअनुसार काम गरेका छौं, कपिलवस्तु रौतहटपछि सबैभन्दा बढी संक्रमण भएको जिल्ला हो ।

सैनीले जिल्लामा लकडाउन केही खुकुलो भएको छ । ढुवानीका सवारी साधन चलेका छन् । पब्लिक ट्रान्सपोर्ट पूर्ण रूपमा बन्द छ । होटल रेष्टुरेन्ट पनि बन्द छन् । होटललाई होम डेलिभरी गर्न पनि दिएका छौं ।’ 

जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिृकत ध्रुव नेपालले पनि गृहले आफूहरूलाई परिपत्र नगरेको हुँदा पुनः लकडाउनलाई कडाई गर्ने विषयमा छलफल नै नभएको बताए । 

प्रदेश ५ सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरीले जाँच बढाउन प्रदेश ५ मा तीनवटा नयाँ पीसीआर मेसिन जडान थालिएको बताए ।

अहिले प्रदेशका तीन ठाउँबाट कोरोना जाँच भइरहेको छ ।

प्रदेश ५ मा पहिलो संक्रमण वैशाख १९ गते रूपन्देही र बाँकेमा एकसाथ २ जना संक्रमित भेटिएका थिए । 

प्रदेश ५ मा ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । प्रदेशमा संक्रमण तीव्र रूपमा फैलिँदो छ । संक्रमितमध्ये ९५ प्रतिशत भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरू हुन् । प्रदेश २ पछि बढी संक्रमित प्रदेश ५ मा छन् ।

प्रदेश ५ मा अझै २४ हजार ५ सय २३ जना क्वारेन्टीनमा रहेका छन् । प्रदेश ५ मा ७६८ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । 

भारतमा आउनेको संख्या पछिल्लो समय क्रमशः घट्दै गएको छ । अर्घाखाँचीको हरि माविको क्वारेन्टीनमा बुधबार आत्महत्या गरेका ४५ वर्षिया पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । 

देशकै दोस्रो ठूलो नाका रूपन्देहीको बेलहिया (सुनौली) नाका भएर नेपाल आउने र नेपालबाट भारत जाने यात्रुको संख्या लगातार घट्न थालेको छ ।

इलाका प्रहरी कार्यालय, बेलहियाका अनुसार पछिल्लो साता दैनिक औसतमा ३ सय जना भारतबाट नेपाल भित्रिएका छन् भने त्यति नै संख्यामा नेपालमा काम गर्ने भारतीयहरू भारततर्फ गएका छन् ।

कोरोना महामारीका कारण भएको लकडाउनले भारतमा कामविहीन बनेका नेपालीहरू फर्कने क्रम केही दिनयता कमी आएको बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए ।

जेठको पहिलो सातातिर भारतमा रेल सेवा शुरू भएपछि दैनिक २ हजारभन्दा बढी नेपालीहरू सीमा आउने गरेका थिए ।

नेपाल आएकामध्ये अधिकांश आफ्नो गृह जिल्लामा पुगेर सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टीनमा बसेका छन् भने कतिपयलाई होम क्वारेन्टीनमा पनि पठाउने गरिएको छ ।

क्वारेन्टीनमा बसेकाहरूलाई शुरूमा आरडीटी गरिन्छन् । आरडीटीमा पोजेटिभ आए बल्ल पीसीआर जाँचका लागि स्वाब संकलन गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्