१४ असार २०८३, आइतबार

हुम्लामा जन्मेकी रामकलीको सीप पोखरामा फैलिँदै

असार ६, २०७७
हुम्लामा जन्मेकी रामकलीको सीप पोखरामा फैलिँदै

नातिनातिनीसँगै समय बिताउने बेला ६२ वर्षीया रामकली खड्कामा जोश–जाँगर हराएको छैन । हुम्लाको मुचुमा २०१२ सालमा बुवा कुङुगा र आमा सुकी लामाको कोखबाट जन्मेकी उनी हुम्ला हुर्केर राजधानी काठमाडौंमा सीप सिकी पोखरामा खन्याउँदै छिन् ।

उनले ४४ वर्षअघि पोखरा आएर १४ हजार बढीलाई महिला सशक्तीकरण, स्वास्थ्य, प्रौढ शिक्षा, कानूनी परामर्श, सिलाइबुनाइ तालिम प्रदान गरिसकेकी छन् । सिकाएका अधिकांश महिला दिदीबहिनीमध्ये केही त्यही रोजगाररत छन् भने केही सानोतिनो व्यापार व्यवसायमा संलग्न रहेर आयआर्जन गरिरहेका छन् ।

उनको प्राथमिकतामा एकल, अपाङ्गता भएका, गरीब तथा आर्थिक अवस्था न्यून रहेका महिला पर्छन् । उनी आबद्ध महिला सीप विकास संस्था अघि बढाउने क्रममा रामकलीको परिचय पनि फराकिलो बन्दै गयो । कोरोना भाइरस महामारीले स्वास्थ्यको उच्च जोखिमसँगै ठाउँठाउँमा जागिर गुमेको खबरबीच घरेलु तान बुनाइ भने लगातार चलिरहेको छ । विषम परिस्थितिमा यसको महत्त्व अझ बढ्दो छ । विविध सीप सिकाउने रामकलीको जीवनगाथा नेपालको पश्चिमबाट शुरू हुन्छ ।
... ... 
हुम्लाको खासरपानीमा विद्यालयस्तरको अध्ययन सकेपछि उच्च शिक्षाको लागि रामकली सदरमुकाम सिमिकोट आइन् । त्यसबेला गाउँमा उनको नाममा ‘आवा’ आयो । अहिलेजस्तो टेलिफोनको सुविधा थिएन । इमेल–इन्टरनेट त परको कुरा ।

छनोट परीक्षामा सफल भएकी उनलाई २०२९ सालमा काठमाडौंको जावलाखेलस्थित महिला स्वयंसेविका तालिम लिने अवसर मिल्यो । त्यसबेला १८ महिने होम साइन्स अन्तर्गत विभिन्न प्रकारका तालिमबाट निपूर्ण भइन् उनी । तालिमपछि काठमाडौंमै रहेर अन्य महिलालाई सीप सिकाउन थाल्दै गर्दा २०३२ सालमा लोक सेवा आयोगको परीक्षामा नाम निस्क्यो । खरिदार सरहको महिला कार्यकर्ताको रुपमा उनी तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयअन्तर्गत पोखरामा महिला तालिम केन्द्रमा ‘पोस्टिङ’ भइन् । २१ वर्षसम्म निजामती सेवाकै सिलसिलामा महिलालाई आत्मनिर्भर बनाउने बाटोमा उनी रहेकी छन् ।

पोखरा आएकै वर्ष रामकलीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर पोखराको दीपमा सबैको सक्रियतामा महिला प्रशिक्षण केन्द्र सञ्चालन गरिन् । ‘जागिरको सिलसिलामा पोखरामा रहँदा गाउँ–गाउँ घुम्ने अवसर मिल्यो । गाउँघरमा महिलाको दयनीय अवस्था देखें । महिला सशक्तीकरणको लागि सीप महत्त्वपूर्ण रहेछ भन्ने लाग्यो । त्यो देखेर महिला प्रशिक्षण केन्द्र खोलेकी हुँ,’ खड्काले विगत सुनाइन् ।

करीब १२ हजार रुपैयाँबाट शुरू गरेको संस्थाको पुँजी हाल करोडौं पुगेको छ । लाखौं आम्दानी गर्न सक्ने गरी महिलाले सीप आर्जन गरेका छन् । यसै अन्तर्गतको पोखरा महिला सीप विकास प्रालिले वार्षिक २ करोड रुपैयाँ कारोबार गर्छ । 

नेपाली समाजमा महिला उद्यमशील र व्यावसायिक यात्राबाट आत्मनिर्भर हुँदै आएको खासै धेरै लामो इतिहास पाइँदैन । परम्परागरुपमा हेर्ने हो भने महिलालाई घरायसी कामकाजमा लगाउने, श्रमको मूल्य नदिने र परनिर्भरतामै सीमित राख्ने गरियो तर महिलालाई उद्यमशील बनाउँदै अघि बढेकी रामकलीले महिलाको व्यक्तित्व विकाससँगै सीपमूलक तालिम दिने अभियानमा गाउँगाउँ जान पछि परिनन् । 

गाउँगाउँमा स्वास्थ्यसम्बन्धी परिवार नियोजन, महिलालाई प्रौढ शिक्षा अभियान, छोरीलाई विद्यालय पठाउने संस्कारको विकास, कानूनी परामर्श दिने, आधुनिक चुल्हो, छोराछोरीमा भएको विभेदको न्यूनीकरण लगायका विषयमा खड्काले वकालत गरिन् । समयक्रमसँगै महिला सशक्तीकरण मात्र नभई महिलालाई उद्यमशील बनाउनुपर्छ भन्ने उनको सोच यतिखेर सफल बनेको छ ।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेला र महोत्सवमा तथा घरेलु मेला र महोत्सवमा पनि उनले स्टल राख्दै जाँदा ग्राहकको स्वदेशी उत्पादनमा क्रेज बढेको पाइयो । संस्थाले उत्पादन गरेको सामान ७० प्रतिशतजसो युरोप र एसियाली राष्ट्रमा जाने गरेको छ । ३० प्रतिशत पोखरामै खपत हुने गरेको छ ।

पोखरा दीप हुँदै सिर्जनाचोकमा सञ्चालित महिला प्रशिक्षण केन्द्र २०७२ सालको विनाशकारी भूकम्पपछि त्यहाँबाट हट्नुपर्ने भयो । संस्थालाई करीब १ करोड रुपैयाँको आर्थिक व्ययभार पर्न गयो । १ वर्षमा विभिन्न सहयोगी मनको साथ पाएसँगै नजिकै आलुमाईलाचोक क्षेत्रमा ३ रोपनी जग्गामा संस्थाले कार्यालय स्थापना गर्न सफल भयो । 

सो वर्ष मजदुरी गर्ने धेरै महिलालाई समस्या मात्र परेन, उद्यमशील बन्न महिलाले सीप सिक्न समेत पाएनन् । समस्याले ग्रसित भएको अवस्थामा ढुंगा खोज्दा देउता मिलेसरी सो स्थानमा १० वर्षको लागि जग्गा लिजमा लिएर संस्थालाई पुनर्जीवन दिन रामकली सफल भइन् । संस्थाकै पहलमा स्थापित महिला सीप विकास बचत तथा ऋण सहकारी संस्थाबाट सो संस्थालाई ऋण उपलब्ध गराएसँगै संस्थाले पुनर्जीवन पायो । संस्थाका सदस्य नै सहकारीका शेयर सदस्य बनेका छन् । हाल ४३५ जना शेयर सदस्य छन् ।

महिला, असक्त, अपाङ्गता व्यक्ति भएकालाई काम पाउन समाजमा गाह्रो छ । आत्मनिर्भर बन्न सीपमूलक तालिम तथा अवसरको खाँचो छ । संस्थाले सो कुरा दृष्टिगोचर गरी समाजमा पछि परेका महिला, विपन्न समुदाय, एकल, अपाङ्गता, अशक्त एवं असहाय महिलालाई लक्षित गरी सीममूलक तालिम दिँदै आएको छ । 

शुरूआतमा निःशुल्क तालिम प्रदान गरेर पछि रोजगार अवसर दिलाइन्छ । यहाँ तान बुनाइबाट झोला, कोठाको सजावटका लागि चाहिने सामान, बच्चाको गुडिया, उपहार सामग्री, भान्छामा आवश्यक सामग्री लगायत उत्पादन हुने गर्छन् । हस्ताकलाका सामान नै संस्थाको मुख्यस्रोत हो । रंग, अल्लो, कटन, कपास, काठको टाँक लगायत कच्चा पदार्थ स्वदेशी नै प्रयोग हुने गरेको छ भने केमिकल, जिपर (चेन), लक लगायत पदार्थ बाहिरबाट आउने गरेको छ । 

संस्थाले पोखरामा हालसम्म ४ शाखा विस्तार गरिसकेको छ । पोखरा–१३ को कुँडहर, वडा २७ को रिठ्ठेपानी, वडा १६ को लामाचौर र वडा ३० को गगनगौंडामा शाखा विस्तार गरी हाल ६६ जना महिलालाई रोजगार दिलाएको छ । सर्वप्रथम कुँडहर शाखा २०६१ सालमा सञ्चालनमा आएकोमा अरु क्रमशः खुलेका हुन् । कोभिड–१९ को महामारी हटेर देशको अवस्था सुध्रिँदै गए भविष्यमा थप शाखा विस्तारको योजना रहेको रामकलीले सुनाइन् । 

पैसा अभावमा घरपरिवार र समाजमा अपहेलित हुनुपरेको, परनिर्भरता हुनुपरेको, महिलाले रोजगारको लागि धेरै दुःख सहनुपरेको लगायत समस्या महिलाले देखाएसँगै रामकलीले त्यस्ता महिलालाई आत्मनिर्भर र उद्यमशीलतामा लगाएकी हुन् । ‘मेहनत गर्ने महिलाले मासिक २५ हजार रुपैयाँसम्म कमाउँछन्,’ रामकलीले भनिन्, ‘उद्योगमा काम गर्ने ९० जना शारीरिकरुपले अशक्त, दृष्टिविहीन, एकल महिला, अभिभावक गुमाएका उमेर पुगेका महिला छन् । उनीहरूले सीप अनुसार दक्षता देखाउँछन् । कोरोनाबीच पनि सामाजिक दूरी कायम गरेर सानोतिनो काम भइरहेको छ ।’

संस्थाले महिलालाई सीप सिकाउँदै र केही महिलालाई रोजगार दिँदै सामान उत्पादनमा लाग्दा संस्थामाथि व्यापार गरेको आरोप समेत लाग्यो । महिला सीप विकास संस्थासँगै रामकलीले छुट्टै पोखरा महिला सीप विकास प्रालि दर्ता गरी संस्थाबाट उत्पादित सामग्री बजारीकरण गरेकी हुन् । संस्थाको आफ्नै वेबसाइट छ । त्यसैबाट अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसारसँगै बजारीकरण बढेको छ । हातले बुनेका सामानले विदेशमा मूल्य पाउने हँुदा उत्पादित सामान प्रायः निर्यात हुने गरेको छ । उनले सञ्चालन गरेको उद्योगमा एकातर्फ काँचो धागोको रंगाउन पकाउँदै, तान बुन्दै, धागो तयार पार्दै र अर्कोतर्फ तयारी सामान प्याकिङ गर्दै गरेको दृश्य हेर्दा जोसुकैलाई स्वदेशमै केही गर्न सकिन्छ भने गतिले उदाहरण बन्न सक्छ ।

पूर्व तयारी, हरेक दिनको समीक्षा, दृढ ईच्छाशक्ति, घरपरिवार र समाजको साथ र सहयोगले गर्दा संस्थालाई यहाँसम्म ल्याउन सकिएको रामकलीको बुझाइ छ । रामकलीलाई परिवारमा पति श्यामसुन्दर खड्का, ३ छोराहरू सागर, अमृत र आलोकको पनि साथ छ । संस्थाको कार्यकारी निर्देशकसमेत रहेकी उनले सिकाएका महिला स्वदेशका विभिन्न शहर हँुदै विदेशमा समेत स्वरोजगार तथा उद्यमी व्यवसायी बन्न सफल भएकोमा आफू निकै हर्षित भएको बताइन् ।

संस्था अध्यक्ष बन्दीकुमारी गुरुङले पनि रामकली दिदीको क्रियाशीलताले काम गर्न हौसला मिलेको बताउँछिन् तर अहिले प्रतिस्पर्धात्मक बजारसँगै कच्चा पदार्थ र पूँजी अभाव संस्थाको चुनौती बन्दै गएको रामकलीले गुनासो गरिन् । सरकारले पनि संस्थाको सामाजिक कार्य देखेर सहयोग गर्नुपर्ने उनको जोड छ । 

संस्थाको कार्यालयका भित्ता रामकलीले प्राप्त गरेका पुरस्कार तथा सम्मानपत्रले भरिएका छन् । यो नै संस्थाको प्रशंसनीय कामको मानक हो । नेपालका हजारौं महिलालाई यस्तो सीपमूलक तालिम दिने र विदेशी बजारमा सहज ढंगले लैजान सक्ने वातावरण मिलाउने हो भने आर्थिक विकास र समृद्धि हासिल गर्न उद्यमशीलताले थप टेवा पुग्ने उनकोे बुझाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्