१४ असार २०८३, आइतबार

पोखरामा संक्रमितको शव व्यवस्थापन गर्दा स्थानीय विरोधमा उत्रिएपछि हवाईफायर

असार ११, २०७७
पोखरामा संक्रमितको शव व्यवस्थापन गर्दा स्थानीय विरोधमा उत्रिएपछि हवाईफायर

कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा पोखरामा बिहीवार स्थानीयले विरोध जनाएका छन् । 

उपचारका क्रममा बुधवार राति मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन गर्ने क्रममा पोखरा महानगरपालिका–३२ मजुवाका स्थानीयले विरोध जनाएका हुन् । सोक्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको छ । 

पोखरा महानगरको डोजरले खाल्डो खन्न लागेको थाहा पाएपछि स्थानीय सो ठाउँमा शव गाड्न नपाइने भन्दै विरोधमा उत्रिएका थिए । प्रहरी र स्थानीयबीचको झडपबीच पनि बिहीवार दिउँसो शव व्यवस्थापन सम्भव भएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए ।

स्थानीयले तोडफोड र ढुंगामुढा गर्न उत्रिएपछि प्रहरीले हवाइफायर गरी तितरबितर पारेको थियो भने केहीलाई नियन्त्रणमा लिएको छ । 

कास्कीका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार ८ राउन्डसम्म हवाइ फायर गरिएको हो । विरोध गर्ने ८ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

गत जेठ ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएका स्याङ्जाका ५५ वर्षीय ती पुरुषको बुधवार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो । 

कोरोना संक्रमित उनी मधुमेह र निमोनिया रोगबाट समेत ग्रसित रहेको अस्पतालमा निर्देशक डा. अर्जुन आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनलाई उपचारका क्रममा शुरूआतमा आईसीयूमा राखिएकोमा श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

गण्डकी प्रदेशमा योसहित कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । गत जेठ २३ गते स्याङ्जा वालिङका ५८ वर्षीय अर्का पुरुषको पोखरामै उपचारका क्रममा मृत्यु भएको थियो । उनको शव व्यवस्थापन गर्ने क्रममा समेत हम्मेहम्मे भएको थियो ।

पछि प्रहरीले जबरजस्ती पोखरा–११ र २० को सीमा सेती किनारमा खाल्डो खनेर शव गाडेको थियो । प्रदेश सांसद, वडाका जनप्रतिनिधि र स्थानीय विरोधमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गर्नुपरेको थियो । 

गण्डकी प्रदेशमा गएको १ महिनामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जेठ ११ गतेसम्म मात्र ५ जना कोरोना संक्रमित रहेको गण्डकीमा हाल बढेर ७५३ पुगेको छ । बिहीवार थप ११ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । 

प्रदेश सरकारले कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि आइसोलेसन बार्डसमेत बढाउने तयारी गरेको जनाएको छ । प्रदेशमा खासगरी नवलपुर, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँमा रहेका आइसोलेसन वार्डको क्षमता दोब्बर बनाइने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्