
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय नजिक पुगेको छ ।
प्रदेशको तनहुँ, स्याङ्जा, बागलुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी ४ जिल्लामा थप २५ जनामा कोरोना संक्रमण देखा परेको हो । नयाँ संक्रमितसहित कुल संक्रमितको संख्या गण्डकीमा ७ सय ९२ पुगेको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकी प्रवक्ता डा. विनोदबिन्दु शर्माले शुक्रबार बिहान विज्ञप्ति जारी गरी सो कुराको पुष्टि गरेका हुन् ।
प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको नमुना परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ३० र ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखा परेको छ ।
यस्तै, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुष र बागलुङको बरेङ गाउँपालिकाका २३ वर्षीय पुरुषमा पनि नमुना परीक्षणमा पोजेटिभ देखिएको हो ।
उता, भरतपुर अस्पताल, चितवनमा भएको परीक्षणमा प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २ महिलासहित २१ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्लाको कावासोती नगरपालिकाका वर्ष २५ र ३७ का गरी २ जना महिला संक्रमित हुँदा कावासोतीकै १२ जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरुको उमेर समूह वर्ष १८ देखि ५८ सम्म छ । जसमा वर्ष १८, २४, ३० र ३५ का २÷२ जना तथा वर्ष २२, २९, ३३ र ५८ का १÷१ जना छन् ।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका उनीहरु सबै जनालाई सम्बन्धित जिल्लाका अस्पतालमा उपचारका लागि आइसोलेसन बार्डमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरुको पालिका तथा ट्राभल हिस्ट्री भने खुलाइएको छैन ।
प्रदेशमा हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ भने ९१ जना निको भई डिस्चार्ज भएका छन् । हालसम्म ८ हजार ७ सय ५१ नमुना संकलन भएकोमा अब ९ सय ३३ को नमुनाको नतिजा आउन बाँकी छ ।
