
गजल -१
शब्द जालमा के हुन्छ र त्यो गराईमा हुन्छ
जे हुनु छ सबै कुरा त्यो मन पराईमा हुन्छ !
के पो पाउँछौ र बगरमा बालुवा यसै चालेर
चम्किने मोती त समुद्रको गहिराईमा हुन्छ !
कहाँ मिल्छ त्यो खुशी अँगालोमा बाँधिएर
आनन्द जति सब प्रियसीको कुराईमा हुन्छ !
कसरी लुटिन्छ फूल थाहा हुन्न काव्य पढेर
स्वाद त नयन जुधाएर घर फिराईमा हुन्छ !
दिलको तुलो खाली नै छ भर्न कोही आऊ
निम्ठो या त झुसी बन्छ त्यो भराईमा हुन्छ !
किन खोज्दछौ त्यो चाँद यति मोहित बनेर
सुन्दरता त आफ्नै आँखाको हेराईमा हुन्छ !
... ...
गजल–२
हिसाब–किताब जान्ने भए खातासँग सोधी हेर
कसको भर कसलाई कति नातासँग सोधी हेर !
दुःखमा नि रम्ने गर बाहिर खोजी सुख भेटिन्न
कोरिँदा कति मजा आउँछ गातासँग सोधी हेर !
कर्मी बन माहुरीझैं फूलको रस चुसे मह बन्छ
पाई पाईको मूल्य कति हो दातासँग सोधी हेर !
बादल पनि कहिले फाट्छ कहिले बर्सिरहन्छ
भिज्दा कति स्वाद आउँछ छातासँग सोधी हेर !
कहिले घाम कहिले छायाँ जीवनको बाटोभरि
यो जिन्दगीको लक्ष्य के हो ज्ञातासँग सोधी हेर !
केही कुरा त गुमाई हेर पाउनु मात्र तृप्ति होइन
लुटिँदा कति खुशी आउँछ मातासँग सोधी हेर !