
अन्तर्राष्ट्रिय मुलुकमा हुने व्यापार घाटामा नेपालले व्यापक सुधार गरेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब २० अर्बभन्दा बढी व्यापार घाटा कम गरेको हो ।
अघिल्ला केही आर्थिक वर्षहरूमा निरन्तर वृद्धि हुँदै गएको व्यापार घाटा आर्थिक वर्ष २०७६/७७ मा भने सुधार भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, नेपालले गत आर्थिक वर्ष (आव) २०७६/७७ मा ११ खर्ब ६३ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोर्नुपरेको छ ।
यद्यपी अघिल्लो आव २०७५/७६ मा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा सहनुपरेको थियो ।
यस्तै आर्थिक वर्ष २०७४/७५ मा ११ खर्ब ६३ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोर्नुपरेको थियो ।
नेपालले आर्थिक वर्ष २०७३/०७४ मा ९ खर्ब ११ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोर्नुपरेको थियो ।
गत आर्थिक वर्षमा अन्तराष्ट्रिय मुलुकबाट नेपालमा ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँभन्दा बढी वस्तुहरूको आयात भएको छ ।
अघिल्लो आवमा भने १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको आयात भएको थियो ।
कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी रूपमा सिर्जना गरेको महामारीका कारण पनि आयात घटेको विश्लेषकहरू बताउँछन् ।
निर्यात बढाउने सपनामा धक्का !
अन्तराष्ट्रिय बजारमा प्रतिवर्ष निर्यात बढाउँदै लैजाने नेपालको सपनामा धक्का लागेको छ । अघिल्ला केही आर्थिक वर्षहरूमा निरन्तर बढ्दै गएको निर्यातमा आर्थिक वर्ष २०७६/७७ मा धक्का लागेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तत्थ्यांक अनुसार, गत आर्थिक वर्षमा नेपालले ९६ अर्ब १५ करोड ९३ लाख रुपैयाँ बढीको वस्तुहरू निर्यात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा अन्तर्राष्ट्रिय मुलुकमा ९७ अर्ब १० करोड ९५ लाख रुपैयाँ भन्दा बढीको निर्यात गरेको थियो ।
अघिल्लो आवको तुलनामा नेपालको निर्यात ९५ करोड रुपैयाँभन्दा बढीले घटेको छ ।
आर्थिक वर्ष २०७३/७४ मा ७३ अर्ब ३ करोड रुपैयाँको वस्तुहरू अन्तराष्ट्रिय बजारमा निर्यात भएका थिए ।
निर्यातमा वृद्धि गर्दै सरकारले आव ०७४/७५ मा ८१ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको निर्यात गरेको थियो । यस वर्ष नेपालले निर्यातमा ८ अर्ब ३२ करोड ३५ लाख रुपैयाँभन्दा बढीले निर्यात बढाएको थियो ।
सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो । जसका कारण सबै क्षेत्र ठप्प बनेका थिए । लकडाउनको मारमा पर्दा अघिल्लो वर्षमा बढ्दै गएको नेपालको निर्यात गत आर्थिक वर्षमा ९५ लाख रुपैयाँभन्दा बढीले घट्न पुगेको हो ।
कोरोनाभाइरसको प्रभाव
भन्सार विभागका अनुसार कोरोना भाइरसको महामारीको जोखिम न्यूनीकरण तथा रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण व्यापार सन्तुलनमा धक्का लागेको छ ।
विभागका सूचना अधिकारी शिशिर घिमिरे लोकान्तरसँग बताउँछन्, ‘आयात बढ्दै थियो भने निर्यात पनि बढ्दै थियो, कोरोनाभाइरसका कारण यताउता हुन पुग्यो ।’
सरकारले निर्यात वृद्धि गर्ने लक्ष्यमा कोरोनाभाइरसले प्रभाव पारेको उनी बताउँछन् । कोरोना भाइरसको महामारी सिर्जना हुनुपूर्व आयात पनि बढ्दै थियो । निर्यात पनि बढ्दै गएको अवस्थामा अहिले घटेको उनले बताए ।