२० असार २०८३, शनिबार

आंशिक मात्र खुले पोखराका होटल

साउन १५, २०७७
आंशिक मात्र खुले पोखराका होटल

कोरोना भाइरस प्रभावका कारण लामो समय बन्द रहेका पोखराका होटल रेष्टुराँ बिहीबारदेखि आंशिक रुपमा खुल्न थालेका छन् । कोभिड–१९ विरुद्ध आवश्यक मापदण्ड बनाएर यहाँका होटल रेष्टुराँ खुल्न थालेका हुन् ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि नेपाल सरकारले चैत ११ देखि देशभर लकडाउन गर्‍यो । १ सय २० दिनसम्म लामो लकडाउन बीचमा विभिन्न मोडालिटी अपनाएर लकडाउन खुकुलो पार्दै आएपनि अन्य ठूला व्यवसायसँगै होटल तथा रेष्टुरेन्ट पनि ठप्प थिए । लकडाउन गत साउन ७ देखि अन्त्य गरियो ।

होटल तथा रेष्टुराँले साउन १५ देखि आवश्यक मापदण्ड अनाएर सेवा दिन सकिने भनिएपछि शून्य बनेको पोखराको पर्यटन क्षेत्र होटल तथा रेष्टुराँ खुलेसँगै केही गति दिन सक्ने संकेत देखिन्छ । तर कोरोना भाइरस संक्रमण जोखिम नहटिसकेको, लामो दूरीका सवारीसाधन नचलेको, हवाई यातायात बन्द रहेको हुँदा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड भने अझै सुनसान प्रायः छ । यहाँका करिब १० प्रतिशत होटलमात्र बिहीबारदेखि संचालनमा आएको पश्चिमाञ्चल होटल संघले जनाएको छ । 

संघका अध्यक्ष विकल तुलाचनका अनुसार होटल व्यवसायहरु खुल्ला गर्ने भनेर सूचना आएपनि अहिले नै व्यवसाय खोल्ने अवस्था नरहेको बताउँछन् । उनले होटल चल्नेभन्दा पनि विस्तारै तयारीका लागि खुल्न थालेको बताए । लेकसाइडका ठूला होटलहरु खासै संचालनमा छैनन् । होटल ग्राण्ड, सांग्रिला, फिस्टेल, बाराही लगायत होटल अझै खुलेका छैनन् । उनीहरु पर्ख र हेरको अवस्थामा छन् । 

होटल बाराही संचालक विप्लव पौडेलले पर्यटकीय सिजन सुरु नभइञ्जेल बाराही होटल नखुल्ने बताए । उनले आफूहरु होटलमा रुमहरुको स्तरोन्नतिमा लागेको जानकारी दिँदै बाराही होटल सेप्टेम्बरतिरमात्र खोल्न सकिने जानकारी दिए । पोखराको पर्यटकीय स्तरको चर्चित होटल बाराहीमा ८० बेड क्षमताको हो । उनी संचालक रहेको सराङकोट माउण्टेन लज भने बिहीबारदेखि खुलेको छ । 

त्यस्तै, स्वीस इन्टरनेशनल होटल भने आंशिकरुपमा संचालनमा छ । विदेशबाट फर्केकाहरूलाई राख्न यहाँ क्वारेन्टाइनको रुपमा प्रयोग गरियो । अहिले क्वारेन्टाइन बस्नेहरु समेत घटेका छन् । मात्र १ कोठा प्रयोग भएको छ । यसरी आफूहरुले पहिलेदेखि नै एकतिहाइ कर्मचारी राखेर संचालनमा ल्याइएको संचालक भरत पहारीले बताए । उनका अनुसार कोरोना संक्रमण पूर्णरुपमा हट्यो भने पनि होटल साविक अवस्थामा पूर्णरुपमा संचालन गर्न अझै २ वर्ष कुर्नुपर्ने अनुमान छ । 

पोखरामा सबैभन्दा धेरै होटल रुम भएको होटल हो–होटल ल्याण्डमार्क । यहाँ १ सय बढी रुम छन् । तर सरकारको सूचना बमोजिम बिहीबारदेखि आफूहरुले आंशिकरुपमा कर्मचारी राखेर संचालनमा ल्याएको संचालक ओम पाण्डेले बताए । हाल यहाँ रेष्टुराँतिर सहित क्लीनर, हाउस किपिङ, सेक्युरिटी गरी २२ जना कर्मचारी बोलाइएको छ । हाल पहिले कुल १ सय ४ जना कर्मचारीले काम गर्थे । संचालक राजु पाण्डेले सबै कर्मचारीलाई मास्क र पञ्जा अनिवार्य गर्दै ग्राहकको पनि ज्वरो नाप्ने र सेनिटाइजर वा हात धुने व्यवस्था मिलाइएको बताए । 

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले अहिलेकै अवस्थामा होटल खोलेर संक्रमण निम्त्याउन नहुने बताउँछन् । बरु पर्यटकीय सिजन लक्षित गरी तयारी गर्नुपर्ने भन्दै उनले राज्यको नीतिबिनै होटल खोल भनेर खोल्ने र नखोल्ने भनेर नखोल्ने गर्नु नहुने बताए । पोखरा पर्यटन परिषद्को पूर्व अध्यक्ष समेत रहेका भट्टराईले सरकारले भने जसरी अहिले नै होटल व्यवसाय खोलेर बस्न अधिकांश होटल तथा रेष्टुरेन्टहरु तयारी नरहेको बताउँछन् ।

कोरोनाका कारण अहिले हरेक व्यवसायमा मन्दी नै लागेको छ । त्यसमा पनि यो अफ सिजनको समयमा व्यवसाय सञ्चालन गर्नु अर्काे ठूलो चुनौती रहेको व्यवसायहरूको गुनासो छ । लकडाउनको बेलामा धेरै कर्मचारीहरु गाउँघर गएको अवस्था छ । उनीहरुको टेष्ट स्वास्थ्य चेकजाँचको पनि कुराहरु आउँछन्, होटल सञ्चालन गरिसकेपछि सुरक्षाका पनि कुराहरु आउँछन्, त्यसलाई पहिलो प्राथमिकतामा राखेर तयारी गर्नु जरुरी रहेको होटल संघ अध्यक्ष विकल तुलाचनले बताए ।

अहिलेको अवस्थामा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकलाई जोड दिदैँ अघि बढ्न सकिने होटल माउन्ट कैलाशका संचालक नरेश भट्टराईले बताए । पहिलो चरणमा आन्तरिक व्यवस्थापन, दोस्रो चरणमा मौद्रिक नीति कार्यान्वयन र तेस्रो चरणमा सरोकारवालासँग बसेर आन्तरिक र बाह्य पर्यटकलाई कसरी सुरक्षित तरिकाले भित्र्याउने र पर्यटन प्रवर्द्धनलगायतका विषयमा केन्द्रित रहनुपर्ने उनी बताउँछन् । 

पोखरामा करिब ७ सय पर्यटकीय होटल रहेका छन्, तीमध्ये संघमा आवद्ध ४ सय पश्चिमाञ्चल होटल संघसँग आबद्ध छन्  । यस्तै, पोखराका होटल तथा रेष्टुराँ व्यवसायमा व्यवसायीको लगानी ५० अर्ब र बैंकको लगानी ७५ अर्ब  रहेको पाइन्छ । यहाँ १२ हजार २ सय ९८ ले रोजगारी पाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्