भारतको उत्तर प्रदेश सरकारले अयोध्यामा भगवान श्रीरामको २५१ मिटर अग्लो मूर्ति बनाउने भएको छ ।
नोएडाका मूर्तिकार राम सुतारले श्रीरामको अग्लो मूर्ति निर्माणको जिम्मेवारी पाएका छन् । उनैले गुजरातमा सरदार पटेलको १८३ मिटर अग्लो प्रतिमा डिजाइन गरेका हुन् ।
मूर्तिकार सुतार र उनका छोरा अनिल पद्मभूषणबट सम्मानित भइसकेका छन् । भगवान् रामको मूर्तिको डिजाइन पारित भएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग उनले कुराकानी गरिसकेका छन् ।
आदित्यनाथले उनलाई मूर्ति पूर्णतया स्वदेशी हुनुपर्ने बताएका छन् ।
त्यसपछि राम सुतारले मूर्ति पूर्ण रूपमा स्वदेशी हुने र उत्तर प्रदेशमा नै बनाउने अनि अहिलेसम्मकै सबभन्दा विशाल मूर्ति हुने कुरा बताए ।
मूर्ति बनाउन साढे तीन वर्ष लाग्ने उनको भनाइ छ ।
अयोध्यामा राम मन्दिर निर्माणको भूमि पूजन समारोह लगत्तै मूर्ति निर्माणको काम शुरू गरिने अपेक्षा गरिएको छ ।
चीनमा संसारकै सबभन्दा अग्लो गौतम बुद्धको मूर्ति छ । त्यसको अग्लाइ २०८ मिटर छ । उत्तर प्रदेशमा भगवान रामको मूर्ति चाहिँ २५१ मिटर अग्लो हुनेछ ।
मूर्तिमा २० मिटरको अग्लो घेरा हुनेछ । प्रतिमा ५० मिटर अग्लो बेसमा उभ्याइनेछ । आधारमुनि भव्य संग्रहालय बनाइनेछ । त्यहाँ भगवान विष्णुका सबै अवतारलाई प्रविधिको माध्यमले देखाइनेछ । डिजिटल म्युजियम,
फूड प्लाजा, ल्यान्ड स्केपिङ, पुस्तकालय र रामायणकालीन ग्यालरी पनि बनाइनेछ ।