
प्रदेश पाँचको राजधानी बुटवलमा समुदायस्तरमै कोरोना भाइरसको संक्रमण तीव्र हुँदै फैलिएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको आकस्मिक बैठकले बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो । बिहीबार राति १२ बजेदेखि भदौ ५ गतेसम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको उपप्रमुख गोमादेवी आचार्यले बताइन् । लकडाउनमा अत्याआवश्यक बाहेक अरु सबै ठप्प हुने बताइएको छ ।
पूर्व पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गले समेत छोएको बुटवलमा बाहिरबाट आउने कुनै पनि गाडी रोक्न पाइने छैन । पछिल्लो समय बजार खुल्ला भएसँगै बुटवलमा मानिसहरुको भीडभाड र चहलपहल बढिरहेको छ ।
बजार खुल्ला हुँदा आम मानिसले सामान्य सर्तकता पनि नअपनाएपछि उपमहानडरपालिकाले लकडाउन गर्ने निर्णय गरेको आचार्यले बताइन् ।
अघिल्लो साता हाटबजार लगायतका बढी भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो । तर बुटवलको थोक बजारमा अस्वभाविक भिडभाड भएपछि उपमहानगरपालिकाको आलोचना समेत हुँदै आएको छ ।