१० साउन २०८३, आइतबार

समुदायमा संक्रमण फैलिएपछि झापाका चार पालिकामा लकडाउन

साउन ३१, २०७७
समुदायमा संक्रमण फैलिएपछि झापाका चार पालिकामा लकडाउन

कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएसँगै झापाका चार स्थानीय तहले लकडाउन घोषणा गरेका छन्। जिल्लामा समुदायमा रहेका ५१ जना कोरोना सङ्क्रमित भएपछि पालिकाहरु धमाधम बन्द हुन थालेका हुन्।
    
लकडाउन घोषणा गर्नेमा दमक र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिका छन्। चारवटै पालिकाले एक हप्ताका लागि बन्दाबन्दी घोषणा गरेका हुन्। दमक नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दमकका पाँच कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै शनिबारदेखि एक हप्ताका लागि नगरपालिका बन्द गरेको हो। 

मेचीनगर नगरपालिकाले आम्दा मेची अस्पतालका चिकित्सक, फुटबल खेलाडीलगायत समुदाय स्तरमा नै कोरोना सङ्क्रमण देखिएपछि तीन दिनदेखि अत्यावश्यक सेवाबाहेक सबै बन्द गरेको छ।

कमल गाउँपालिकाले छिमेकी नगरपालिका दमकमा समुदायमा कोरोना फैलिएको भन्दै आंशिक बन्द गरेको छ । पालिकाले सूचना नै जारी गरेर सातैवटा वडाका जनप्रतिनिधिसहित कर्मचारीको समेत पिसीआर परीक्षण गराउनुपर्ने भएको हुँदा रिपोर्ट नआएसम्म कार्यालय नै नखोलिने जानकारी गराएको छ।
 
सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठद्वारा जारी गरिएको सूचनामा सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका उपायहरु पालना गर्न कमल गाउँपालिकाभित्रका जनतालाई समेत अपिल गरिएको छ। त्यसैगरी बुद्धशान्ति गाउँपालिकाले छिमेकी मेचीनगर नगरपालिकाका समुदायमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै बन्दाबन्दी घोषणा गर्नुपरेको जनाएको छ। मेचीनगर र अर्जुनधारा नगरपालिकासँग सीमा जोडिएको बुद्धशान्तिले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र पालिकाले तोकेको समयावधिमा मात्र पसल खोल्नसमेत आग्रह गरेको छ।
 
यसअघि अर्जुनधारा नगरपालिका र विर्तामोड नगरपालिकाले समेत एक हप्ता बन्दाबन्दी गरेका थिए। समुदायमा कोरोना देखिएपछि सङ्क्रमति व्यक्तिसँग सम्पर्कमा आएका २०० बढी व्यक्तिको कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसीआर परीक्षणसमेत गरिएको छ।
 
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले जिल्लाका ४६ जना समुदायमा कोरोना सङ्क्रमित भएको बताए।   

salt training

कमेन्ट गर्नुहोस्