
पोखरामा बोलेरो जीपको ठक्करबाट मोटरसाइकल चालक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा अर्का प्रहरी हवल्दार गम्भीर घाइते भएका छन् ।
पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखरा–५ मालेपाटनमा मंगलवार राति करीब १ बजे बागलुङ बसपार्कबाट जिरोतर्फ आउँदै गरेको ग२च २६२६ नम्बरको बोलेरो जीपले प्रहरी सवार ग१ब ३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी वडा प्रहरी कार्यालय बैदाममा कार्यरत पाल्पाका २० वर्षीय चन्द्रबहादुर बगालेको मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार बर्दिया घर भएका प्रहरी हवल्दार ३४ वर्षीय चन्द्रबहादुर थारु घाइते भएका छन् ।
दुर्घटनापछि गम्भीर घाइते दुवैको उपचारार्थ गण्डकी मेडिकल कलेज नयाँबजार लगिएकोमा बगालेको उपचारका क्रममा १ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । जीप र जीप चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।
राति १२ बजेदेखि बिहान ६ बजेसम्मका लागि क्यूआरटीमा ती प्रहरीहरू गस्तीमा रहेका थिए ।