१४ असार २०८३, आइतबार

ढोरपाटन बाढीपहिरो : मृतकको संख्या १४ पुग्यो, ३९ बेपत्ता

भदौ १८, २०७७
ढोरपाटन बाढीपहिरो : मृतकको संख्या १४ पुग्यो, ३९ बेपत्ता
फाइल फोटो

बागलुङको ढोरपाटनस्थित भुजीखोलामा आएको बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

अझै ३९ जना बेपत्ता छन् । मृत्यु हुनेमध्ये २ जनाको मात्र सनाखत भएको छ । 

जसमा ढोरपाटन–९ भट्टचौरकी २६ वर्षीया केशमाया विक र लाकुरीबोटका ४५ वर्षीय करबहादुर विकको पहिचान भएको छ । ५ जना पुरुष र ६ महिलाको सनाखत हुन बाँकी छ ।

बेपत्ता हुनेमा ढोरपाटन–९ बस्ने २० वर्षीय जीवन विक, सोही ठाउँका ३४ वर्षीय नारायण विक, २० वर्षीया टेकमाया विक, उनकी १ वर्षीया छोरी, १५ वर्षीया मनिषा विक, घट्टेचौरका २८ वर्षीय शनि विक, उनका छोराहरू ५ वर्षीय रवि र १० वर्षीय रोशन, १५ दिनको बच्चा, २६ वर्षीया मनकुमारी विक, २९ वर्षीय प्रेम पुन, भुसुण्डेकी ३० वर्षीया कुमारी विक, १४ वर्षीय समुन्द्र विक, १० वर्षीया पुनम विक, ३० वर्षीय जितबहादुर घर्ती, ४३ वर्षीय राजु घर्ती, घट्टेबोटकी ३५ वर्षीया करमति बुढा, ३५ वर्षीया रीनाकुमारी घर्ती, २० वर्षीया दिलमाया पुन, उनकी ३ वर्षीया छोरी प्रकृति, ६० वर्षीया डोटी पुन बेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।

सानो कुगुका ३५ वर्षीय हेमबहादुर विक, उनकी पत्नी ३४ वर्षीया उजेली विक, छोरा ८ वर्षीय दलु, १० महिनाका छोरा, ४० वर्षीय करबहादुर विक, उनकी पत्नी ३७ वर्षीया हस्तमाया विक, दुनेपधेंराकी ६० वर्षीया तुलमति घर्ती, लाकुरीबोटकी ५५ वर्षीया कौशिला पुन, उनका छोरा २० वर्षीय विशाल, पावर हाउसकी २५ वर्षीया धनमाया विक, उनका २ वर्षीय छोरा, सुप्राङका वीरे विककी पत्नी र २ छोराछोरीसहित ४ जनाको परिवार, गलकोट–४ घर भई ढोरपाटन घुम्न आएका २५ वर्षीय नवीन भण्डारी र ढोरपाटन–९ सुप्राङका नाम नखुलेका अन्य ३ जना पनि बेपत्ता भएका छन् । 

बाढीपहिरोमा परी ढोरपाटन–४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरिता घर्ती, ४२ वर्षीय धमेन्द्र पुन र ५४ वर्षीया बेलमति पुन घाइते छन् । तीमध्ये महेन्द्र पुनको अवस्था गम्भीर छ । 

घटनास्थलको अवलोकन गरी फर्केका बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आफूहरू ढोरपाटनको वडा ६, ७, ८ र ९ मा पुगेको बताए । उनका अनुसार सबैभन्दा बढी क्षति वडा ८ र ९ मा भएको छ ।

स्थानीयको भनाइ उदृत गर्दै उनले यति ठूलो बाढीपहिरो जीवनमै पहिलो पटक देखेको बताएका छन् । उनका अनुसार ढोरपाटन जाने बाटो पूरै भत्किएको छ । 

उद्धारका लागि बुर्तिबाङ तथा जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी, सेना र सशस्त्रको टोली गएको थियो । 

बुधवार राति करीब १ बजेको समयमा अविरल वर्षापछि ढोरपाटन–९ भुसुण्डे, दुनेपोखरा, लाँकुरीबोटमा बाढीपहिरो गएको हो । बाढीपहिरोले ढोरपाटन–९ सुकुदुङमा रहेको स्वास्थ्य चौकीको भवन लगायत स्थानीय १३ घर पूर्णरूपमा बगाएको छ । २ वटा मोटरसाइकल बगाएको छ । भुकुण्डेमा पार्किङ गरिराखेको ग१ज ४१२५ नम्बरको पिकअप जीप समेत बगाएको छ ।

सकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि र बोबाङका ३ वटा जलविद्युत् आयोजना र ३ वटा झोलुङ्गे पुल समेत बगेका छन् । बाढीपहिरोमा ढोरपाटनका ६, ७ , ८ र ९ नम्बर वडामा क्षति पुगेकोमा सबैभन्दा बढी ८ र ९ वडामा पुगेको हो ।

salt training

कमेन्ट गर्नुहोस्