०६ असार २०८३, शनिबार

पृथ्वी राजमार्ग बस संचालक कम्पनीले असोज १ देखि गाडी चलाउने

भदौ २५, २०७७
पृथ्वी राजमार्ग बस संचालक कम्पनीले असोज १ देखि गाडी चलाउने

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले असोज १ देखि देशैभर सवारीसाधन सञ्चालनमा ल्याउने जनाएको छ ।

कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले कम्पनी मातहतका सार्वजनिक यातायातका साधन कोरोनाविरुद्ध आवश्यक मापदण्ड पूरा गरी देशैभर चलाउने निर्णय गरेको बताएका हुन् ।

‘अब हामीहरु बरु कोरोनाले मर्न तयार छौं तर भोकै बस्न सक्दैनौं,’ लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘हाम्रा कारणले कोरोना बढेको हो भने किन नेपालमा ५० हजार संक्रमित भए ?’

विश्वका ठूला देशहरु भारत तथा अमेरिकाको उदाहरण दिँदै उनले ती देशहरुमा पनि दिनहुँ ठूलो संख्यामा संक्रमित थपिँदा सार्वजनिक यातायात चलिरहेको र नेपालमा एक हजार हाराहारीमा कोरोना संक्रमित थपिँदा सरकारले आफूहरुलाई मात्र तारो देख्न नहुने जिकिर गरे ।

कम्पनीको २ दिनअघि सो निर्णय भएको भन्दै उनले असोज १ मा विश्वकर्मा पूजा अवसर पारेर विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको कोभिड–१९विरुद्धको आवश्यक मापदण्ड पूरा गरी छोटो तथा लामो दूरीका गाडीहरु कुल सिट संख्यामा आधा छोडेर भएपनि चलाएरै छाड्ने बताए ।

उनले भने, ‘सरकारको निर्देशन पालना गर्दै हामीहरु विगत ६ महिनादेखि पर्खि बस्यौं । अब भने हाम्रो धैर्यता टुटेको छ । हामीहरु जसरी पनि गाडी सडकमा निकाल्छौं । छेकथुन भयो भने जिल्ला प्रशासनको गेटमा गएर व्यवसायी, मजदुर र आफ्ना छोराछोरीहरु सुत्न तयार छौं । गिरफ्तारी नै तयार छौं ।’

यातायात व्यवसायीहरू सवारीसाधन ग्यारेजमा थन्क्याएर बस्दा समेत बैंक तथा वित्तीय संस्थाको ऋणको साँवा तथा व्याज चुक्ता तथा मजदुरको हकहितबारेमा कुनै चासो नदिएको भन्दै अन्ततः व्यवसायीहरु सरकारको निर्देशनबो अवज्ञा गर्दै सवारीसाधन चलाउने निर्णयमा पुगेको केसीले बताए ।

कालो प्लेटका गाडीकै कारण कोरोना संक्रमण जोखिम बढेको भन्ने लाग्यो भने सरकारले वस्तुनिष्ठ आधार दिन सक्नुपर्ने उनको टिप्पणी छ ।

यात्रुलाई अनिवार्य मास्क र सेनिटाइजर प्रयोग, सिट छोड्ने नियम पालना गर्ने भन्दै राज्यले जोरबिजोर वा सीमित संख्यामा चलाउन भन्छ भने पनि सो अनुसार जान तयार रहेको तर अब गाडी थन्क्याएर बस्न नसक्ने अवस्थामा आफूहरु पुगेको केसीले बताए ।

पृथ्वी राजमार्ग बस संचालक कम्पनीमार्फत् हाल १ हजार ४ सय बस देशका विभिन्न भागमा चल्छन् ।

salt training

कमेन्ट गर्नुहोस्