०८ असार २०८३, सोमबार

भारतमा नेपाली कामदारको व्यग्र पर्खाइ, सीमासम्मै पुग्छन् रोजगारदाता ‘मालिक’का गाडी

भदौ ३१, २०७७
भारतमा नेपाली कामदारको व्यग्र पर्खाइ, सीमासम्मै पुग्छन् रोजगारदाता ‘मालिक’का गाडी

कैलालीको गोदावरी नगरपालिका–५ का किरण चन्द गौरीफन्टा भएर भारतको गुजरात हानिएका छन् ।

मेकानिकल इन्जिनीयर रहेका उनी परिवारसहित गुजरात बस्दै आएका थिए । उतै रोजगारी गर्छन् । गत जेठमा नेपाल आएका उनी हाल कोरोना कहरबीच भारत पसेका हुन् ।

उनी भन्छन्, ‘यता रोजगारी छैन । उतै काम गर्छु । कम्पनीले बोलाएको बोलायै छ । गौरीफन्टा सीमाबाटै गाडीको व्यवस्था कम्पनीले नै गरिदिएपछि फर्किंदै छु ।’

कञ्चनपुरको पुनर्वास नगरपालिका–१ ढक्काका सुरेश साउँद पनि गौरीफन्टा नाका भएर भारत पसे । ‘घरमा कूल देवताको पूजा थियो । श्राद्ध गरियो । पितृहरूबाट आशिर्वाद मागियो । अब परिवार पाल्नकै लागि भारत जान लागेको हुँ,’ साउँदले भने, ‘हाम्रो देशमा काम पाइने भए भारत जानु के रहर थियो र ? काम पाइँदैन अनि भारत जानुको विकल्प छैन ।’

उनीसहित ५ जनालाई लिन दिल्लीका रोजगारदाता व्यवसायीले गाडी नै पठाएका रहेछन् । पाँचै जना दिल्लीमा सुरक्षा गार्डमा काम गर्छन् । ‘मालिकले पारिपट्टि (भारत) गाडी पठाइदिनुभएको छ । अब कोरोनाबाट बच्दै काम गरिन्छ,’ उनले भने, ‘काम गर्नु पर्छ, कहिलेसम्म घरभित्रै सुतिराख्नु त ?’

किरण र सुरेश मात्रै होइनन्, यतिबेला गौरीफन्टा नाकाबाट आउनेभन्दा भारत फर्किने धेरै छन् । सीमा नाकामा आजभोलि ओइरो लाग्ने गरेको छ । खासगरी भारतमा लामो समयदेखि रोजगारीमा रहेका, मौसमी कामदारको रूपमा भारतमा काम गर्न पुगेकाहरू भारतमा कोरोनाको महामारी फैलिएपछि लकडाउनबीच नेपाल फर्किएका थिए । तर लामो लकडाउनपछि बेरोजगार भएका नेपालीहरू आजभोलि पुनः रोजगारीको लागि भारत पस्न लागेका छन् ।

लामो समयदेखि भारतमै रोजगारी गरेका नेपालीलाई पहिले कार्यरत ठाउँका रोजगारदाता मालिकहरूले बोलाउन थालेपछि र सीमा नाकामै गाडीको व्यवस्थासहित लिन आएपछि नेपालीहरू फर्किन थालेका हुन् । भारतमा रोजगारदाताहरू नेपाली मजदुरको व्यग्र पर्खाइमा छन् ।

कैलालीको जानकी गाउँपालिका–५ पथरैयाका भरतसिंह विक नयाँदिल्लीमा एक रेस्टुरेन्टमा काम गर्थे । भारतमा लकडाउन भएपछि रेस्टुरेन्ट सञ्चालकले घर पठाइदिए । मालिकले फेरि कामको लागि बोलाएकाले उतै जान लागेको उनले बताए ।

‘मुगल रेस्टुरेन्टमा गार्ड थिएँ । त्यतिबेला लकडाउन हुने भनेपछि ४–५ दिनअघि नै आइहालें,’ उनले भने, ‘अहिले घरमा नून तेल त चाहियो । नेपालमा सबैतिर बन्द छ । भारतमा सबै होटल, कलकारखाना, व्यापार व्यवसाय खुलिसक्यो ।’ 

लामो लकडाउनले दुई छाक टार्नलाई पनि मुस्किल भएपछि नेपालीहरू स–साना दुधे बालकलाई काखी च्यापेर भारततिर जान बाध्य छन् । सुदूरपश्चिम प्रदेशको साढे २५ लाख जनसंख्याको ३० प्रतिशत जनसंख्या कामका लागि भारत आउजाउ गर्ने गरेको गैरसरकारी संस्थाहरूको दाबी छ ।

भारतबाट सुदूरपश्चिमका विभिन्न जिल्ला आएका र कर्णाली प्रदेशका वासिन्दा यतिबेला कञ्चनपुरको गौरीफन्टा नाका र गड्डाचौकी नाका भएर पुनः भारततिर फर्किरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको पछिल्लो १० दिनको तथ्यांक अनुसार ती २ नाका भएर आउने र जानेको संख्या करीब–करीब बराबरै रहेको छ । भदौ २० गतेदेखि २९ गतेको तथ्यांक अनुसार ६ हजार ४९९ जना भित्रिएका छन् भने ६ हजार १८५ जना भारत गएका छन् । गड्डाचौकीको तुलनामा गौरीफन्टा नाकामा आवागमन बढी रहेको पाइएको छ ।

प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार खासगरी लामो समयसम्म भारतमा बसेका र भारतमै विभिन्न पहिचान पत्र लिइसकेका नेपालीहरू भारत फर्किएका छन् । सीमा नाकामा भारतीय सुरक्षाकर्मीले आधार कार्ड, भोटर कार्ड, राशन कार्ड भएका नेपालीलाई प्रवेश दिँदै आएको प्रशासकीय अधिकृत भारतीले जानकारी दिए ।

आजभोलि सेवानिवृत्त नेपालीहरू पनि भारत गइरहेका छन् । भारतीय सेना र प्रहरीमा सेवानिवृत्त नेपालीहरू पेन्सन बुझ्न भारत जाने र आउने गरेको प्रशासन कार्यालयले जनाएको छ । भारतीय सीमावर्ती जिल्लाका डीएमसँगको समन्वयमा दैनिक १०० जना सेवानिवृत्त नेपालीहरू पेन्सनकै लागि भारत गइरहेका बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्