०२ असार २०८३, मंगलबार

पीडितको घाउमा मल्हम लगाउँदै सामुहिक दुर्घटना बीमा

असोज १०, २०७७
पीडितको घाउमा मल्हम लगाउँदै सामुहिक दुर्घटना बीमा

गुर्भाकोट नगरपालिका वडा नं. तीनका सौरभ नेपालीको खोलाले बगाउँदा करिब डेढ महिना अघि ज्यान गयो । उनको ज्यान गएको केहि समयमा नै वीरेन्द्रनगर स्थित राष्ट्रिय बीमा कम्पनी लिमिटेडले सौरभका आफन्तलाई २ लाखको चेक हस्तान्तरण गरेको छ ।

पञ्चपुरी नगरपालिकाका तुलाराम पुरीको पहिरोमा परेर ज्यान गयो । उनका नजिकका हकवाला महेश पुरीले दुइ लाखको चेक प्राप्त गरे । सोही नगरपालिकाका नन्दा पुलामीको पनि पहिरोमा परेर ज्यान गयो । उनका श्रीमान डम्बर बहादुर पुलामीले कम्पनीबाट रु २ लाखको चेक प्राप्त गरे ।

'विगतमा भन्दा यो पटक सरकारले राम्रो व्यवस्था गरेको रहेछ । कम्तिमा हामीले आफन्त गुमाए तापनि सरकारले क्षतिपुर्ति स्वरुप २ लाख रुपैंया दिएको छ । यसले केहि हदसम्म पीडामा मल्हम लगाउने काम गरेको मैले महसुस गरेको छु,' नन्दाका श्रीमान डम्बरले भने, 'दुःखमा परेका हामी जस्ता नागरिकका लागि सरकार भएको महसुस गरेको छु । कम्तिमा २ लाख रुपैंया पाउँदा क्रिया खर्च जुटाउन समस्या भएन । सरकारको यो काम ऐतिहासिक छ ।'

उनी मात्रै होइनन्, प्रदेश सरकारले कर्णालीका १७ लाख ७० हजार नागरिकको सामुहिक दुर्घटना बीमा गरेको एक वर्ष पुगेको छ । सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७६ असोज एक गते एक भव्य कार्यक्रमका बीच यो कार्यक्रम लागु भएको घोषणा गरेका थिए ।

यो एक वर्षमा मात्रै कर्णालीमा प्राकृतिक विपत्तिमा परेर ७२ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यी मध्ये अधिकांशको कागजात सरकारले कम्पनीमा बुझाएको छैन ।

'हामीले आवश्यक कागजात आएको मृतक व्यक्तिहरुका हकवाला परिवारलाई हामीले चेक हस्तान्तरण गर्ने गरेका छौं । सुर्खेतका तीन जनाले दावी भुक्तानी पाइसक्नु भएको छ । कालिकोट पहिरोमा परेर ज्यान गुमाउने अन्य पाँच जनाको चेक तयार भइसकेको छ ।  सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयसँगको सहकार्यमा ति चेकहरू केहि दिनमै हामी हस्तान्तरण गर्छौं,' बीमा कम्पनी सुर्खेतका प्रमुख तोर्ण प्रसाद सुवेदीले भने, 'सरकारले जति सक्दो छिटो अन्य व्यक्तिको कागजात दिएको खण्डमा वीमा रकम तत्काल उपलब्ध हुने छ ।'

सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयमार्फत कागजात मगाइएको तर सबैको आइ  नसकेको बताए ।

'हामीले कागजात मगाएका छौं । अहिलेसम्म २५ जनाको कागजात आएको छ । त्यो बीमा कम्पनीमा पठाएका छौं,' उनले भने, 'अहिले मन्त्रालयबाटै कर्मचारी खटाएका छौं । कागजात आइ पुग्ने वित्तिकै उहाँहरुको खातामा नै २ लाखका दरले रकम जम्मा गर्नेछौं ।'

salt training

कमेन्ट गर्नुहोस्