भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिएको आरोपमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष पक्राउ परेका छन् ।
हिम्मतपुर शिविरका पुनिराम चौधरिलाई नक्कली बुवा बनाएर अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस गरेको भन्दै प्रहरीले वडा नम्बर १२ का वडाध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरेको हो ।
जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
वडाध्यक्ष जोशी नेपाली काँग्रेसबाट विजयी हुन् ।
अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन् । नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पनि पक्राउ गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।