२१ असार २०८३, आइतबार

विष्णु खत्रीले ल्याए देउसी गीत ‘लाहुरे बाको आँगनी’

कात्तिक १६, २०७७
विष्णु खत्रीले ल्याए देउसी गीत ‘लाहुरे बाको आँगनी’

लोकगायक विष्णु खत्रीको देउसी गीत ‘लाहुरे बाको आँगनी’लाई दर्शक/स्रोताले रुचाएका छन् । सार्वजनिक भएको दुई दिनमै गीत युट्युब ट्रेन्डिङको ४७औँ स्थानमा उक्लेको छ । आइतबार बिहानसम्म गीतले झण्डै एक लाख भ्युज बटुलेको छ ।

मौलिक पर्व तिहारलाई लक्षित गरी गायक खत्रीले शुक्रबार बिहान आफ्नै युट्युब च्यानलबाट देउसी गीत सार्वजनिक गरेका थिए । भिडियोमा गाउँका वडाध्यक्ष, शिक्षक र भारतीय सेनाबाट निवृत्तको घरमा देउसी खेलिएको देख्न सकिन्छ ।

खत्रीले समाजको उत्थान र विकासमा नेताको भूमिकाबारे देउसीमार्फत सन्देश दिन खोजेका छन् । जनताप्रति उत्तरदायी हुन नेतालाई आग्रह गरिएको छ । 

यस्तै देउसीले शिक्षकको महिमा गानसमेत गरेको छ । प्रतिभावान् नागरिक तयार गर्न शिक्षकले पुर्‍याएको योगदानको चर्चा गरिएको छ । लाहुरे र तिनका परिवारजनको जीवन भोगाइलाई देउसीमा उतारिएको छ । देउसीमा गायक खत्रीसँगै गायिका टीका पुन र मुना थापामगरको स्वर छ । 

सङ्गीत र शब्द पनि खत्रीकै छ । सर्जक कुशल भण्डारीले पनि शब्दमा खत्रीलाई सघाएका छन् । देउसीको भिडियो निर्देशन होम गुरुङले गरेका छन् भने निर्मल क्षत्री, सम्झना खत्री, सगुन खत्रीलगायतको अभिनय छ ।

गायक खत्रीको जन्मथलो बागलुङको गलकोट नगरपालिका–७ मल्ममा देउसीको छायाङ्कन गरिएको छ । गायक खत्रीले यसअघि दशैँ गीत ‘रिनै रिनको’ सार्वजनिक गरेका थिए ।  

गायक खत्री दुई दशकदेखि लोक सङ्गीतमा सक्रिय छन् । उनले सयौँ गीतमा स्वर र शब्द दिएका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्