
न्यु किम नाम गरेको बेल्जियमको एक परेवालाई आइतवार गरिएको लिलाम बिक्रीमा लगभग २५ करोड रुपैयाँमा बेचिएको छ । यो आफैंमा एक कीर्तिमान हो ।
यसअघि अर्मान्डो नामक परेवा लगभग १२ करोड रुपैयाँमा बिकेको थियो ।
‘यी कीर्तिमान मूल्यहरू अविश्वसनीय छन् । न्यु किम पोथी परेवा हो भने अर्मान्डो भाले परेवा थियो । सामान्यतया पोथीभन्दा भालेको मूल्य बढी हुन्छ किनकि यसले बढी बच्चा जन्माउन सक्छ,’ अन्लाइन लिलामी घर पिपाका प्रमुख कार्यकारी निकोलास गीसेलब्रेख्तले बताए ।
न्यु किमको उमेर जम्मा दुई वर्ष भएको र उसले सन् २०१८ मा मात्र दौडिएको उनको भनाइ छ । उसलाई बेल्जियमको सर्वोत्कृष्ट बचरोको उपाधि दिइएको थियो ।
परेवाहरूले १० वर्षको उमेरसम्म बच्चा जन्माउन सक्छन्, त्यसैले न्यु किमले थप सन्तान जन्माउने सम्भावना छ ।
चीनका दुई धनाढ्यहरूले कीर्तिमान रकम तिरेर न्यु किमलाई किनेका हुन् ।
निकै लामो दूरीसम्मको दौड लगाउने परेवाप्रति चिनियाँहरूको आकर्षण बढेकाले मूल्य पनि आकाशिएको हो । परेवा दौडको केन्द्र मानिने बेल्जियमका परेवाहरू किन्न विशेष चासो रहने गरेको छ ।
परेवाप्रेमी मानिसहरू बेल्जियममा जति अन्यत्र नपाइने गीसेलब्रेख्तले बताए ।
‘
यति सानो देशमा २० हजारजना परेवापालक छन् । उनीहरूबीच तीव्र प्रतिस्पर्धा छ । यो च्याम्पियन्स लीग जस्तै छ,’ उनले भने ।