०२ असार २०८३, मंगलबार

सपनाको उडान

मंसिर १२, २०७७
सपनाको उडान

क्षितिज पौडेल:

केहि दिन पहिले म पशुपती क्षेत्र पुग्दा मुख्य मन्दिर क्षेत्र सुनसान भए पनि छेउकै घाट क्षेत्र भने पहिले पहिले भन्दा निकै भिडभाड थियो ।

बिगतका दिनमा भन्दा आजकल बढि शवको घुइँचो रहेछ भन्ने घाट क्षेत्रबाट प्रष्ट महशुस गर्न सकिन्थ्यो । शव वाहनको आवाज , मलामीको रोदन ले त्यो क्षेत्रको माहोल धेरै नै भावविव्हल बनाउने खालको  थियो । त्यसै बेला मेरो मानसपटलमा दुइटा नाम आएको थियो बिनय जंग बस्नेत र सपना रोक्का मगर ।

फूलले सजिएर स्टेचर वा खटमा आफ्ना हरुबाट अन्तिम बिदाइ लिन पर्खिएका शान्त देहहरु , भारी मन लिएर बिदाइ गर्न बसेका देहका आफन्तजन भन्दा बिपरित कसैले हाम्रो मान्छे हो भनेर नसम्झी,नभनी,नभेटी बेवरिसि बनि अस्पतालमा रहिरहेका गनाउने भएका अन्य प्राणीले आक्रमण गरि बिगारेका देहहरुको   व्यबस्तापन मा खटिएका यि दुई ब्यक्तिको बारेमा केही अगाडि हेरेको मिडिया रिपोट मेरो आँखा अगाडी तरोताजा नै थियो ।

त्यति नै बेला मैले सोचेको थिए , मृत्यु पछि आफ्नाले बिर्सदै जाने यो युगमा चिन्दै नचिनेका मृतकलाई खोज्दै र सम्झदै यसरी ब्याख्या नै गर्न नसकिने अलौकिक कार्यमा  लगिरहेका उनिहरूको लागी चाहीं सम्झना  गरिदिने को होलन भनेर । तर संजोग बस  त्यसै साँझ नेपालका प्रायः मिडियामा उनकै नाम देखिए र सुनिए  । सपना रोक्का मगर बिबिसीले सन् २०२० मा छानेको विश्वभरका सयजना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूचीमा  परिन । 

अभिभाबक नहुनेको अभिभाबक ,सन्तान नहुनेको सन्तान र आफन्त जन नहुनेको आफन्तजन  र बिचलित एक्लो भई एक्लिएकाको मुक्तिकर्ता सपना हाम्रो देशको कुनै निकायले देशका प्रेरणादायी तथा प्रभावशाली महिला छानेको भए सायदै पर्ने थिईन । रोस्टममा बसेर महिला सशक्तिकरण का भाषण नगरेकी उनि घाटमा शवहरुलाई मुक्ति दिदै गरेको अवस्थामा न कसैले देख्ने थिए । हाम्रो भन्दा फरक संस्कृति ,शव ब्यबस्तापन गर्ने राष्ट्र बाट संचालित एउटा अन्तर्राष्ट्रिय मिडियाले उनको नाम लिएपछि मात्र उनि नेपालको मिडिया मा देखाईन बाध्य भईन । जीवन यात्राको पूर्वाध मै निकै हण्डर ठक्कर खादै झन्डै सडकमा पुगेकी उनि सामान्य जीबन परिधिमा रमाई रहेका हामी मानब ले सोच्दै नसोचेको आयामबाट समाजलाई योगदान गर्दै छिन् । 

सनातन संस्कृतिमा दागबत्ती मानब मृत्यु पर्यन्तको स्वतःप्रवर्तित प्रक्रिया हो । अभिभाबक,सन्तान वा आफन्तजन बाट हुने सो प्रक्रियालाई मुक्ति दिलाउने पाटोको रुपमा लिईएको पाईन्छ । आफन्तजनको मलामी जादा दागबत्तीपछि चिता हलुङ्गो हुदै घट्दै जान्छ तर मन झन् गरुङ्गो हुदै जान्छ , बलियो हुनुपर्छ रुनु हुदैन भन्ने हरुकै पनि मनको बाध फुटीरहेको हुन्छ ।

अस्मिन् संसारे बहाव: मानवा: जायन्ते म्रियन्ते च । अर्थात् यस संसारमा जन्मेका सबको मृत्यु हुन्छ ।  शाश्वत सत्य भन्ने जान्दा जान्दै, अजम्बरी जन्मेको छैन कोहि भन्ने जान्दा जान्दै पनि मृत्यु नफर्कने बाटो वा अन्तिम बिदाई भएको कारणले त्यो सत्यलाई यो मानब जगतले स्वीकार गर्न गाह्रो मान्छ । चिता र शव जल्दै गर्दा त्यहाँ उपस्थित सबैले म पनि मर्छु भन्ने सम्झन्छ मन भित्रका पाप,लोभ र मोह सबै हराओस भन्ने कामना गर्छ तर त्यहाको संस्कार सकेर त्यहाँ बाट हिड्दै गर्दा मान्छे आफैले त्यी चिज आफुले नै आफैंबाट हराउन दिदैन

। एउटा प्रसिद्ध कथामा भनिए झैँ आमा र बच्चा डुब्दै गर्दा आमाले बछालाई त्यति बेला सम्म बचाउछिन् जब सम्म पानी उनको नाक सम्म हुन्छ तर जब पानीले उनको नाक छुन थाल्छ उनि त्यै बच्चामा टेकेर तैरिन खोज्दछिन् । यस कथामा केहि मेरा बिमति रहे पनि मानिस विशेषत आफ्नो मृत्यु बाट भाग्न खोज्छ भन्ने कुरामा चै असहमति जनाउन नै सकिदैन । 

जति भाग्न खोजे पनि आज संसारमा रहेको कोहि पनि कुनै दिन यहाँ हुने छैन भन्ने कुरा अकाट्य सत्य हो । हामी संग समय छ भन्ने भ्रम बोकेर हिडेका हामीलाई अठार वर्षको उमेरमा सपनाले गरेका कार्य निकै महान लाग्नुपर्छ । करिब नब्बे देह लाई मुक्ति तर्फ डोहोराएर उनले के गर्दैछिन त्यो ब्याख्या गर्न  त म सक्दिन तर आफ्नो आत्मिक शान्तिको लागि सो यात्रा तय गरेकी सपनाको यो उडानले हामी काम क्रोध मोह मा लत्पतिएका म सहितका आम जीबनलाई आफ्नो उडान बाट पुष्पवृष्टि गर्न सकोस भन्ने कामना व्यक्त गर्छु । उनको उडान ले सबैलाई प्रेरणा प्रदान गरोस   । अस्तु :
 

salt training

कमेन्ट गर्नुहोस्