०२ असार २०८३, मंगलबार

खुल्दै एचआईभी संक्रमित

मंसिर १६, २०७७
खुल्दै एचआईभी संक्रमित

केही समय अघिसम्म एचआईभी लागेको मान्छेले आफ्नो समस्याबारे कसैलाई भन्न सक्ने अवस्था थिएन। गाउँ समाजबाट बहिष्कार हुने त्रासका कारण संक्रमित भएको खण्डमा पनि लुकाउने गर्थे। तर, पछिल्लो समय नेपालमा पनि एचआईभी संक्रमित खुल्न थालेका छन् । 

धौलागिरि अस्पतालको ‘ए आरटी’ सेन्टर र एड्ससम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआईभी संक्रमितहरू खुल्न थालेका हुन् । धौलागिरि अस्पताल बागलुङमा २०६३ सालमा स्थापना भएको ए आरटी सेन्टरले एचआईभी एड्स भए नभएको पहिचान गर्ने, संक्रमितहरू परामर्श, परीक्षण तथा नियमित रुपमा औषधि उपचारलगायतका कारण संक्रमितहरू खुलेर आउन थालेका हुन् । 

एचआईभी संक्रमितहरू पनि अरु मानिस सरह बाँच्न सक्छन् भन्ने उद्देश्यका साथ ए आरटी सेन्टरले एचआईभी एड्स प्रभावित गाउँ–गाउँमा पुगेर नमुनाहरू संकलन गरी गोप्य रुपमा उपचार तथा परामर्श दिने गरेपछि संक्रमितहरू खुल्न थालेको धौलागिरि अस्पतालमा सञ्चालित ए आरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताए । 

‘ए आरटी सेन्टरले सङ्क्रमित आमाबाट जन्मेका बालबालिकालाई अस्थायी रुपमा  पोषण गृहमा राखेर समेत स्याहारसुरार गर्दै आइरहेको छ’, आचार्यले भने, ‘संक्रमित भएको भन्ने लागेमा निर्धक्क भएर परीक्षणमा आउन सक्नुहुनेछ, हामीले गोप्य रुपमा औषधि उपचार गर्नेछौं ।’

सेन्टरले एचआईभी एड्स सम्बन्धी गैह्र सरकारी संस्थाको सहयोगमा संक्रमितलाई उचित परामर्श, नियमित औषधि उपचार, बाटो खर्च र पोषण लगायतका धेरै सेवा तथा सुविधाहरु उपलब्ध गराउँदै आएको छ। सो सेन्टरमा अहिले खुलेर आएका सङ्क्रमितहरु ४०७ पुगेका छन् जसमध्ये १६४ ले बागलुङ सेन्टरबाट नियमित औषधि उपचार गरेका छन् भने अन्यले कुस्मा, म्याग्दीबाट सेवा लिइरहेका छन् । बाँकी सक्रमित परामर्शका लागि आइराखेका हुन्छन् ।

सेन्टरको तथ्यांकअनुसार सङ्क्रमितको संख्या बढ्दो छ । गोप्य रुपमा परीक्षण तथा परामर्श पाउने भएपछि सङ्क्रमितहरु खुलेर आउन थालेपछि तथ्यांकमा वृद्धि भएको छ । वर्षमा २० देखि २५ जना संक्रमित थपिनुले उनीहरू विस्तारै खुल्दै आएको अनुमान गर्न सकिने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविन बाबु पौडेलले बताए। 

जिल्लामा हालसम्म ६४ संक्रमितको मृत्यु भइसकेको छ । हाल उक्त सेन्टरलाई धौलागिरि पोजेटिभ समूह तथा एड्स हेल्थ केयर फाउण्डेसन तथा स्थानीय तहले आर्थिक सहयोग गर्दै आइरहेका छन् । सेन्टरमा खुलेका संक्रमितलाई गोप्य रुपमा परामर्श, औषधि तथा अन्य सेवा प्रदान दिएपछि संक्रमितहरू खुल्न थालेको  एड्स हेल्थ केयर फाउण्डेसनका प्रतिनिधि सुषमा क्षेत्रीले जानकारी दिए। नेपालमा संक्रमितको संख्या ३१ हजार २० रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्