काभ्रे, ५ जेठ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी सरह नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा भोट ल्याएको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
काभ्रेको बनेपामा शुक्रवार एमालेको विजय जुलुसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशभर एमालेको लहर आउँदा कांग्रेसले चुनाव जित्नु आश्चर्यजनक भएको बताएका हुन् ।
‘एमालेले यति धेरै काम गरेको छ, राष्ट्रियताको पक्षमा अडान लिएको छ’ ओलीले भने ‘यति गर्दापनि काग्रेस कसरी एमालेको हाराहारिमा आयो ? कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने भएको छ ।’
अध्यक्ष ओलीले चुनावमा सत्तारुढ दलले आतंक मच्चाए पनि एमालेले एक ठाउमा पनि आतंक नमच्चाएको दावी गरे । उनले एमालेले अब बनेपालाई आधुनिक शहर बनाउने दावी गरे ।
‘यसअघि लक्ष्मी नरसिंह बादेलाई किन जिताएनछौ भनेर तपाइहरुलाई पश्चताप हुने वाला छ’ ओलीले भने, ‘अब हामीले बनेपालाई बनाएर देखाउछौं ।’
नेपाली कांग्रेसको गढ मानिएको काभ्रेको बनेपा नगरपालिकामा एमाले उम्मेदवार विजयी भएपछि विजय जुलुसमा सहभागि हुन एमाले अध्यक्ष केपी ओली बनेपा पुगेका थिए ।
बनेपाको मेयरमा एमालेका उम्मेदवार लक्ष्मी नरसिंह बादेले ९ हजार ६ सय १७ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राम जोशीले ८ हजार २ सय ७१ मत पाएका थिए । बनेपा कांग्रेसको गढ मानिन्छ ।