कुनै पनि काम सानो र छुद्र हुँदैन भन्छिन् २२ वर्षीया लोजी बेहेरा ।
उनले भारतको उडिसा राज्यमा इन्जिनीयरिङको डिप्लोमा लिएकी छन् । उनले कलेजको फी तिर्नका लागि सरकारको रोजगारी स्किम अनुसार मजदूरमा नाम लेखाएकी छन् ।
लोजी गरीब दलित परिवारमा जन्मेकी हुन् । उनले पुरीमा रहेको देलाङमा रहेको एक निर्माण स्थलमा २० दिनसम्म काम गरेकी थिइन् । दिनको भारु २०७ उनले कमाएकी थिइन् । कलेजको फीस तिरेर डिप्लोमा प्रमाणपत्र हात पार्ने उनको योजना छ ।
भुवनेश्वरमा रहेको एक निजी कलेजकी विद्यार्थी लोजीले माटो भरिएको भाँडो बोकेको कुरा एक स्थानीय न्युज च्यानलले देखाएको थियो । उनको बारेमा शहरमा चर्चा चल्यो अनि जिल्ला अधिकारीहरूले उनलाई सहायता गर्न आए ।
लगत्तै कलेजका अधिकारीहरू उनको घरमा प्रमाणपत्र लिएर पुगे ।
डकर्मीकी छोरी लोजीका पाँच दिदीबहिनी छन् र तीमध्ये दुईजना उनीसँगै निर्माण स्थलमा काम गरिरहेका थिए ।
कलेज अधिकारीहरूले शुरूमा फीस तिर्न दबाब दिएको र फीस माफ गर्नू भन्दा वास्ता नगरेको तर टीभी च्यानलले देखाएपछि अधिकारीहरूको होश खुलेको लोजीले बताइन् ।